बेलडाँडी, कञ्चनपुर – मिति २०८१ साल माघ १९ गते भएको मोटरसाइकल दुर्घटना प्रकरणमा चालक मुकेश राज अवस्थीलाई अनावश्यक रूपमा हिरासतमा राखिएको भन्दै नेपाल यातायात मुक्त मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, तथा अखिल नेपाल ट्रेड युनियन महासंघ, कञ्चनपुरले आपत्ति जनाएका छन्।
उक्त दुर्घटना कृष्णपुर नगरपालिका–२, बंक सडक खण्डमा भएको थियो । महेन्द्रनगरबाट धनगढी जाँदै गरेको सु.प.प्र.०२००१ ज ४४७ नम्बरको बसले सोही दिशामा गइरहेको प्रदेश ३०२०१२ प ९४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सनत रेग्मी र सवार कमलकान्त जोशी सामान्य घाइते भएका थिए । यातायात कम्पनीले उपचार खर्च व्यहोरेर उनीहरूलाई निको पारेर अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
तर, घाइते कमलकान्त जोशीले आफ्नो पदको दुरुपयोग गरी इलाका प्रहरी कार्यालय झलारीमार्फत अंगभंग मुद्दा दर्ता गराएको मजदुर संगठनहरूको आरोप छ। उनीहरूले प्रहरी प्रशासनले बिना अनुसन्धान चालक अवस्थीलाई अनावश्यक रूपमा हिरासतमा राखेको तथा अदालतबाट पुर्पक्षका लागि जेल चलान गर्न लगाइएको बताएका छन् ।
मजदुर संगठनहरूले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी चालक अवस्थीलाई तत्काल रिहा गर्न माग गरेका छन् । यदि माग पूरा नभए २०८१ चैत २२ गतेदेखि सम्पूर्ण यातायात सेवा बन्द गर्ने चेतावनी समेत दिएका छन् ।
यस विषयमा प्रशासनले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, यातायात क्षेत्रका मजदुर संगठनहरूले थप आन्दोलनका कार्यक्रम ल्याउने संकेत गरेका छन्।
Discussion about this post