भीमदत्त, चैत २२ गते। भीमदत्त नगरपालिका वडा नम्बर ६ र ७ मा वडा कार्यालयमार्फत सञ्चालित सडक स्तरोन्नती (ग्राभेलिङ) योजनाको आज नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक निलम लेखक जोशीको नेतृत्वमा अनुगमन सम्पन्न भएको छ।
उक्त अनुगमन टोलीमा वडा नम्बर १७ का वडा अध्यक्ष तथा अनुगमन समिति सदस्य पदम बुडा, सदस्य लक्ष्मी कार्की, ईन्जिनियर भुपेन्द्र कार्की, सव–ईन्जिनियर पवन लेखक लगायतको सक्रिय सहभागिता रहेको थियो। टोलीले योजनाको स्थलगत निरीक्षण गरी सम्झौता तथा निर्माण मापदण्डअनुसार कार्य भइरहेको वा नभएको अवस्थाको मूल्याङ्कन गरेको छ।
अनुगमनको क्रममा नगर उपप्रमुख जोशीले जनताको करदाताबाट सञ्चालित योजनाहरूमा कुनै पनि किसिमको त्रुटि, लापरबाही वा अधुरो कार्य सह्य नहुने स्पष्ट पार्दै सम्बन्धित पक्षलाई निर्माणको गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभयो। उहाँले अधुरो देखिएका ठाउँहरूमा तोकिएको मापदण्डअनुसार शीघ्र कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो।
सार्वजनिक हितका योजनामा सक्रियता देखाउँदै स्थलगत अनुगमनमा देखिएको नगर उपप्रमुख लेखकको पहल सराहनीय छ। जनताको विश्वास जित्न जनप्रतिनिधि स्वयं निर्माणस्थलमा पुग्नु, सुझाव दिनु र जिम्मेवारी बोध गराउनु उल्लेख्य कार्यको रूपमा देखिएको छ।
स्थानीय जनस्तरमा समेत यस किसिमको निगरानीले पारदर्शिता, उत्तरदायित्व र गुणस्तरीय पूर्वाधार निर्माणमा सकारात्मक सन्देश दिएको स्थानीयवासीहरूको भनाइ छ।





















Discussion about this post