काठमाडौँ, चैत २४ – काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुले देशव्यापी आम शैक्षिक हड्तालको घोषणा गरेका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सोमबार (चैत २५) बाट देशभरका सम्पूर्ण विद्यालय बन्द गर्दै आम शैक्षिक हड्ताल सुरु गर्ने निर्णय गरेको हो।
आइतबार जारी विज्ञप्तिमा महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएकाले आफूहरु अन्तिम र निर्णायक आन्दोलनमा उत्रिएको जनाएको छ।
“गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो,” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
महासंघले सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई विद्यालय बन्द गरेर काठमाडौंमा जारी शैक्षिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुन आह्वान गरेको छ। साथै आन्दोलनको अवधिभर उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायत सबै गतिविधि नगर्न निर्देशन दिएको छ।
गत चैत २० गतेदेखि सुरु भएको आन्दोलनका कारण देशभरका विद्यालयस्तरका गतिविधिहरु अस्तव्यस्त बन्दै गएका छन्। आन्दोलनका कारण एसईई परीक्षा दिएकाहरूको नतिजा प्रकाशन पनि प्रभावित हुने देखिएको छ।
शिक्षक महासंघले अब आउने विद्यालय शिक्षा विधेयकमा सबै खाले शिक्षक तथा विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू समेटिनुपर्ने माग राखेको छ।
यसअघि दोस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षकहरूले फागुन २७ देखि चैत ५ सम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिएका थिए। साथै सांसदहरुसँग भेट गरी विधेयक पारितका लागि दबाब समेत दिएका थिए।
Discussion about this post