बेलडाँडी । बेलडाँडी गाउँपालिका–१, झर्नासागरमा रहेको सगरमाथा शिक्षा एकेडेमीले यस वर्षको कक्षा ८ को परीक्षामा गाउँपालिकाभरिका सबै विद्यालयलाई पछि पार्दै शैक्षिक सफलताको नयाँ इतिहास रचेको छ ।
गाउँपालिकाद्वारा आज सोमवार सार्वजनिक गरिएको परीक्षाफलअनुसार पालिकाभरका निजी तथा सरकारी गरी १४ वटा विद्यालयबाट ३९९ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये जम्मा ९६ जना मात्र पास भए, अर्थात् सफलता दर केवल २४ प्रतिशतमा सीमित रह्यो । यस्तो चिन्ताजनक अवस्थाबीच सगरमाथा शिक्षा एकेडेमीका १० मध्ये ९ जना विद्यार्थी अर्थात् ९० प्रतिशत उत्तीर्ण हुनु आफैँमा अत्यन्तै प्रशंसायोग्य उपलब्धि हो ।
विद्यालयको यो सफलता पालिकाको शून्य आर्थिक सहयोगमा, शिक्षकहरूको कठोर मेहनत, प्रशासनको सक्रिय समन्वय, र विद्यार्थीहरूको निरन्तर लगनशीलताबाट सम्भव भएको हो । विद्यालयका प्रिन्सिपल गोरख बहादुर चन्द भन्छन्, “हामी शैक्षिक गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनौं । यो सफलता शिक्षक, विद्यार्थी र अभिभावकबीचको गहिरो सहकार्यकै परिणाम हो । अब आगामी दिनमा अझ मजबुत तयारी गर्दै जानेछौं ।”
गाउँपालिकाले अति न्यून सफलता दर देखिएको बेला सगरमाथा शिक्षा एकेडेमीले देखाएको उत्कृष्ट नतिजाले अन्य विद्यालय र सरोकारवालाका लागि एउटा उदाहरणीय प्रेरणा बनाएको छ । यस विद्यालयको सफलताले प्रमाणित गरेको छ की स्रोत साधन अभावका बीच पनि इच्छाशक्ति, परिश्रम र प्रतिबद्धता छ भने गुणस्तरीय शिक्षा सम्भव हुने परिणामले देखाएको छ।
Discussion about this post