बेलडाँडी । काठमाडौंका सडकमा सातौं दिन पनि शिक्षकहरूको आन्दोलन थामिएको छैन । शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण तर प्रभावशाली प्रदर्शनमा जुटिरहेका यी ज्ञानका उज्यालो दीपकहरूले जब दिउँसै टर्च बालेर सरकार खोजे—तर सरकार कतै देखिएन ।
यसैबीच, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१, झरनासागर सरस्वती माविका प्रधानाध्यापक विष्णु भण्डारीले आन्दोलनकै बीचमा एक तीखो कविता सार्वजनिक गर्दै सरकारलाई चर्को व्यङ्ग्य गरेका छन् । उनले आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
“धत तेरि निकर्चा रैछौ, नाक नभएका…“
भन्दै सुरु हुने उक्त कविता सामाजिक सञ्जालमा ब्यापक चर्चामा छ । शिक्षकको मुटुमा भरिएको पीडा, आन्दोलनको यथार्थ र शासनतन्त्रप्रतिको रोषलाई उनले शब्दहरूमा यति कलात्मक ढंगले पोखेका छन् कि आन्दोलनकारीहरूको भावना झन् थप सशक्त बनेको देखिन्छ ।
उहाँको कवितामा संसद्, सत्ता र शासनप्रणाली सबैप्रति तिखो प्रश्न उठाइएको छ—
“सांसद निर्लज्ज रैछन, लाज नभएका
नाक समाइ गनउने, खान्या सास नभएका“
भन्दै उनले शासनकर्ताको नैतिक दिवालियापनप्रति औंला ठड्याएका छन् ।
बेलडाँडीका अन्य शिक्षकहरू समेत काठमाडौंस्थित आन्दोलनमा भौतिक रूपमा सहभागी भएका छन् भने, उपस्थित हुन नसकेका शिक्षकहरूले आर्थिक र व्यवस्थापकीय सहयोग गरिरहेका छन् । प्रधानाध्यापक भण्डारी स्वयं आन्दोलनमा शुरु देखिनै सक्रिय छन् ।
भण्डारीको भनाइमा, “शिक्षकको आत्मा बोलिरहेको हो यो कविता मार्फत । हामी केवल सुविधा होइन, शिक्षाको गरिमा र भावी पुस्ताको भविष्य मागिरहेका छौं ।”
उनको कविता साँचै पनि शिक्षा आन्दोलनको चेतनामूलक नारा बनेको छ ।
“लोकतन्त्र गणतन्त्र आज शिक्षक्की नाइ भयो
दुई तिहाई सरकार यिनरो भंसुट्टीमा गयो“
जस्ता वाक्यहरूले जनप्रतिनिधिहरूको संवेदनहीनता स्पष्ट झल्काउँछ ।
शिक्षक भण्डारीले उठाएको आवाज केवल कविता मात्र होइन, यो पीडित शिक्षक समुदायको प्रतिनिधि स्वर बनेको छ । सडकमा उत्रेका शिक्षकहरूका हातमा अब पोस्टर मात्र होइन, कविता पनि छ, जुन सिधै सिंहदरबारको कानसम्म पुग्न लागेको छ ।
अब सरकार सुन्छ कि नसुन्छ, शिक्षकहरू चाहिँ सुन्दैनन—न त अबझन् मौन बस्छन् ।
Discussion about this post