कञ्चनपुर । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र अराजकताविरुद्ध सन्देश दिन नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा विशेष सभा गर्ने भएको छ । भोली चैत २९ गते शुक्रबार हुने सभाको तयारी तीव्र पारिएको छ ।
सभालाई पार्टी महासचिव शंकर पोखरेलसहितका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कैलाली र कञ्चनपुरबाट विशेष सहभागिता हुने बताइएको यो सभालाई भव्य बनाउन एमालेले जिल्लास्तरमै व्यापक जनपरिचालन अभियान चलाएको छ ।
एमाले कञ्चनपुरका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख जनकराज अवस्थीले कञ्चनपुरबाट मात्र १० हजार बढी सहभागिता गराउने लक्ष्य राखिएको जानकारी दिए । उनका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्र तथा पालिकास्तरका कमिटीहरुलाई सक्रिय जिम्मेवारी दिइएको छ ।
क्षेत्र नं. १ मा पार्टी केन्द्रीय सदस्य कमला बोहरा, क्षेत्र नं. २ मा केन्द्रीय सदस्य नरबहादुर धामीलाई र क्षेत्र नं. ३ मा केन्द्रीय सदस्य ईन्चार्ज कृपाराम रानालाई जनपरिचालन अनुगमन समिति प्रमुखक जिम्मेवारी दिइएको छ ।
पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत हुने धनगढी विशेष सभालाई संविधान र गणतन्त्रको पक्षमा देशव्यापी सन्देश दिने उद्देश्यले आयोजना गरिएको हो । एमालेले राजावादी प्रवृत्तिका गतिविधि रोक्न सशक्त सडक प्रदर्शन आवश्यक रहेको बताउँदै सभामार्फत जनमत सशक्त बनाउने तयारी गरेको छ ।
विशेष सभाको पूर्वतयारीस्वरूप कैलाली र कञ्चनपुरमा अघिल्लो साता मोटरसाइकल ¥याली समेत आयोजना गरिएको थियो । शुक्रबार हुने सभामा सुदूरपश्चिमका सबै जिल्लाबाट सहभागी जुट्ने एमालेको योजना छ ।
Discussion about this post