काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संवैधानिक व्यवस्था जोगाउन शीर्ष तीन दलका नेताहरू एक भएर अघि बढ्ने सहमतिमा पुगेका छन्। शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो सहमति बनेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच करिब डेढ घण्टा चलेको छलफलमा गणतन्त्र र संवैधानिक व्यवस्थाको रक्षाका लागि साझा सहकार्य आवश्यक ठहर गरिएको प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले जानकारी दिए।
बैठकमा गृहमन्त्री रमेश लेखक र संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका सल्लाहकार खरेल पनि सहभागी थिए।
‘संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ,’ खरेलले बैठकपछि भने।
उनका अनुसार समसामयिक राजनीतिक विषय र देशको विद्यमान परिस्थितिका बारेमा व्यापक छलफल भएको थियो।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशीतासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा गम्भीर छलफल भएको हो,’ खरेलले स्पष्ट पारे।
बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी पछिल्लो गृहकार्यबारे पनि नेताहरूलाई जानकारी गराइएको उनले बताए।
Discussion about this post