कञ्चनपुर, वैशाख ७ : काठमाडौंमा जारी शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरूमा सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित हुन थालेको छ। सरकारले वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु गरे पनि शिक्षकहरू आन्दोलनमा उत्रिएपछि विद्यालयहरू सुनसान रहेका छन् ।
शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि जारी आन्दोलन अझै नरोकेको अवस्थामा महासंघले शैक्षिक हड्तालको घोषणा गरेपछि आन्दोलन झन् चर्किएको छ। आन्दोलनको समर्थनमा देशैभरका सामुदायिक विद्यालयहरूले सूचना जारी गर्दै सम्पूर्ण शैक्षिक गतिविधि बन्द गरेका छन्।
महासंघले विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलन थालेको हो। उनीहरूले सरकारले माग सम्बोधन नगरे वैशाख ११ गतेदेखि हुने कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित हुने चेतावनी दिएका छन्।
“हाम्रा माग सरकारले सम्बोधन गरेपछि मात्र हामी पुनः कार्यक्षेत्रमा फर्किन्छौं,” एक आन्दोलनरत शिक्षकले बताए। भर्ना अभियानसँगै अब नियमित कक्षाहरू, परीक्षा तयारी र शैक्षिक क्यालेन्डर समेत अन्योलमा परेको छ।
शिक्षकको आन्दोलनले विद्यार्थी र अभिभावक मात्र होइन, सम्पूर्ण शैक्षिक प्रणालीमा असर पार्ने देखिएको छ। तत्काल समस्या समाधान नभए शिक्षा क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव पर्ने विज्ञहरूले बताएका छन्।
Discussion about this post