पुनर्वास/केशव भट्टराई । इसाई धर्मावलम्बीहरूको दोस्रो प्रमुख पर्व इस्टर सण्डे पुनर्वास नगरपालिकामा धुमधामका साथ मनाइएको छ । येशू ख्रीष्टको पुनरुत्थानको सम्झनामा मनाइने इस्टर पर्व इसाई धर्ममा अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
यस अवसरमा पुनर्वास नगरपालिकामा शान्ति ¥याली र कोणसभाको आयोजना गरिएको थियो । आइबिआरडी बजारबाट सुरु भएको शान्ति ¥यालीले पालिकाका सबै वडाहरू परिक्रमा गर्दै पुनः आइबिआरडी बजारमै पुगेर कोणसभामा परिणत भएको थियो ।
शान्ति ¥यालीमा सहभागीहरुले धार्मिक गीत, प्लेकार्ड मार्फत येशू ख्रीष्टको शिक्षालाई जीवनमा आत्मसात गर्नुपर्ने सन्देश दिएका थिए । ¥यालीमा बालबालिका, युवा, महिला तथा जेष्ठ नागरिकहरूको सहभागीता रहेको थियो ।
कोणसभामा बोल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले इसाई समुदायले यसरी एकताबद्ध भई धार्मिक पर्वलाई सांस्कृतिक रुपमा मनाएको बताउनुभयो । उहाँले यस परम्परा सामाजिक सद्भाव र सहिष्णुताको उत्कृष्ट उदाहरण बन्न पुगेको बताउदै पालिकाले इस्टर सण्डेको अवसरमा सार्बजनीक बिदा दिएको बताउनुभयो ।
यस्तै सो कार्यक्रममा बोल्दै इसाई समाज कञ्चनपुरका अध्यक्ष सन्तोष सोनामले येशू ख्रीष्टको पुनरुत्थानले मानव जीवनमा आशा, प्रेम र क्षमाको सन्देश दिएको बताउनुभयो । इस्टर सण्डे पर्वलाई आध्यात्मिक रूपान्तरणको अवसरका रूपमा लिन आह्वान उहाँले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै इसाई समाज कञ्चनपुर शाखा पुनर्वासका अध्यक्ष राज कुमार तामाङले इस्टर सण्डेलाई केवल धार्मिक रुपमा मात्रै नभई सामाजिक सद्भावको पर्वको रूपमा पनि मनाएका बताउनुभयो । येशूको पुनरुत्थानले हामी सबैलाई नयाँ जीवन र नयाँ सोचको बाटो देखाएको बताउदै उहाँले सबैलाई शुभकामना ब्यक्त गर्नूभयो ।
ईस्टर पर्व इसाई धर्ममा येशू ख्रीष्टको मृत्यु पछिको पुनरुत्थानको स्मरणमा मनाइन्छ । बाइबलका अनुसार, येशू ख्रीष्टलाई शुक्रबार (गुड फ्राइडे) मा क्रूसमा चढाइएको थियो र आइतबार (ईस्टर) मा उहाँ पुनर्जिवित हुनु भएको थियो । त्यसैले, इस्टर सन्डे इसाई धर्मका अनुयायीहरूको लागि पुनर्जीवन, मुक्ति र विश्वासको दिनको रूपमा मानिन्छ । त्यसैले यो पर्वले अन्धकार पछि उज्यालो, दःख पछि सुख, र निराशा पछि आशाको प्रतीकको रूपमा गहिरो प्रभाव पार्दछ ।
Discussion about this post