कञ्चनपुरमा रानाथारू समुदाय आक्रोशित, हरिकिसन रानाको रहस्यमय मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग

कञ्चनपुर – बेलडाँडी गाउँपालिका–३ कमरीका भैँसीपालक किसान ५० वर्षीय हरिकिसन रानाको रहस्यमय मृत्युपछि रानाथारू समुदायमा व्यापक आक्रोश फैलिएको छ । वैशाख ९ गते मंगलबार बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिकै मोटरसाइकलसहित जलेको अवस्थामा फेला परेका रानाको मृत्युबारे गम्भीर प्रश्न उठिरहेका छन् ।

रानाको मृत्यु शंकास्पद र रहस्यमयी भएको ठहर गर्दै नेपाल रानाथारू समाज र नेपाल रानाथारू युवा समाजका केन्द्रीय प्रतिनिधिहरूले बिहीबार काठमाडौंमा गृहमन्त्री रमेश लेखकलाई भेट गरी निष्पक्ष र छिटो छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, “उक्त घटना शंकास्पद, रहस्यमयी रहेको र यससँग सम्बन्धित पुराना घटनाहरू पुनः उठान भइरहेकाले आम जनमानसमा व्यापक चासो र आक्रोश पैदा भएको छ । शंकास्पद व्यक्तिहरूलाई तुरुन्त हिरासतमा लिएर निष्पक्ष छानबिन गरियोस् ।”

ज्ञापनपत्रमा हस्ताक्षर गर्ने प्रमुख व्यक्तिहरूमा नेपाल रानाथारू समाजका अध्यक्ष कमल सिंह राना, पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य कृपाराम राना, युवा समाजका अध्यक्ष कमल राना, महासचिव अनिल राना, सचिव अर्जुन राना, तथा केन्द्रीय सदस्य राम प्रताप राना, उपेन्द्र राना र अरुण सिंह बडायक रहेका छन् ।

त्यसैगरी, हिजो कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई पनि रानाथारू अगुवाहरूले न्यायिक छानबिन गर्दै दोषीमाथि कडा कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएका थिए । पिडित परिवारले हरिकिसन रानालाई बारम्बार मानसिक यातना दिने व्यक्तिहरूको नाम किटानी जाहेरीमार्फत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

रानाको मृत्युपछि स्थानीयस्तरदेखि केन्द्रसम्म रानाथारू समुदाय आन्दोलित देखिएको छ । उनीहरूले सरकारसँग निष्पक्ष, प्रभावकारी र शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र सत्य तथ्य उजागर गर्ने स्पष्ट माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित