शिक्षक आन्दोलनकी घाइते पत्रकार सबिना कार्की भन्छिन् : ‘दाहिने आँखाले देख्नै गाह्रो छ’

काठमाडौं । शिक्षक आन्दोलनको रिपोर्टिङका लागि नयाँ बानेश्वर पुगेकी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की अहिले अस्पतालको बेडमा छिन्। प्रहरीले प्रहार गरेको पानीको फोहरा लागेर उनको दाहिने आँखामा गम्भीर चोट पुगेको छ।

दिउँसो १२ बजे रिपोर्टिङका लागि नयाँ बानेश्वर पुगेकी कार्कीले आन्दोलनरत शिक्षकहरूले पहिले नै ‘निषेधित क्षेत्र तोड्ने’ योजना रहेको बताएका थिए। त्यही अनुसार शिक्षकहरू नाराजुलुस गर्दै प्रहरीतर्फ अघि बढ्न थालेपछि स्थिति तनावग्रस्त बन्दै गयो।

“शिक्षकहरू आक्रोशित हुनुहुन्थ्यो, प्रहरीले पानीको फोहरा प्रहार गर्यो। क्यामेरापर्सन भिडियो खिच्न लाग्नुभएको थियो। म छेउमा बसेर मोबाइल निकालेर भिडियो खिच्न खोज्दै थिएँ,” अस्पतालको बेडबाट कार्कीले सुनाइन्, “त्यही बेला अनुहारमा पानीको फोहरा लाग्यो। केही देख्न सकिनँ, चिच्च्याएँ, आत्तिएँ।”

कार्कीका अनुसार सबैभन्दा पहिला प्रहार गरिएको पानीको फोहरा उनीमाथि नै लागेको थियो। त्यसपछि उनी एक्कासी अन्धकारमा गइन्। “दाहिने आँखाले त हेर्नै नसकिने भयो,” उनले दुखेसो पोखिन्।

महिला शिक्षकहरूले प्रहरीलाई उनको अवस्थाबारे जानकारी गराएपछि प्रहरीले तत्कालै कार्कीलाई उद्धार गरी सिभिल अस्पताल पुर्याएको थियो। त्यहाँ प्रारम्भिक उपचार सम्भव नभएपछि उनलाई तिलगंगा आँखा अस्पताल स्थानान्तरण गरिएको हो।

तिलगंगामा भइरहेको उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठका अनुसार कार्कीको आँखाभित्र गम्भीर चोट लागेको छ।
“आँखाभित्र रगत जमेको (हाइफिमा) छ, जसका कारण भिजन निकै कम भएको छ,” श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आँखाको छालाको माथिल्लो भाग च्यातिएको छ भने चोटका कारण आँखाको भित्री प्रेसरसमेत बढेको छ।

हाल कार्कीको उपचार तिलगंगा आँखा अस्पतालमा भइरहेको छ र उनको दृष्टि सुधारका लागि चिकित्सकहरूको प्रयास जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित