काठमाडौं । सरकारबाट बारम्बार उपेक्षा भोगेका सहकारी पीडितहरूले आफ्नो आवाज बुलन्द बनाउन सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। लामो समयदेखि सुनुवाइ नपाएको पीडितहरूले ‘आन्दोलन हाम्रो रहर होइन, बाध्यता हो’ भन्दै आक्रोश पोखेका छन्।
अर्धनग्न अवस्थामा सडकमा उत्रिएर उनीहरूले सरकार र सम्बन्धित निकायप्रति कडा असन्तुष्टि व्यक्त गरे। ‘हाम्रो धैर्यलाई कमजोरी नठान’, ‘सहकारी सञ्चालकको सम्पत्ति जफत गर’, ‘हाम्रो बचत फिर्ता गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले आफ्नो व्यथा सार्वजनिक गरे।
वर्षौंदेखि पसिना बगाएर संकलन गरेका बचत रकम गुमाउँदा आर्थिक र मानसिक पीडामा परेका उनीहरू महिनौंदेखि आन्दोलनरत छन्। सहकारी सञ्चालकहरूद्वारा गरिएको अपचलन र बेइमानीका कारण सर्वसाधारण बचतकर्ता आफ्नो पुर्ख्यौली जमिन धितो राखेर संचित गरेको धनराशीसमेत गुमाउन बाध्य भएका छन्।
“हामीले आफ्नो पसिनाको पैसा सहकारीमा राखेका थियौं, सुरक्षित रहनेछ भनेर। तर आज हामी आफैं सडकमा नाङ्गिन बाध्य भएका छौं,” एक जना पीडितले रुँदै भने, “हामीले सरकारसँग धेरै पटक गुहार गयौं, तर हाम्रो आवाज सुन्ने कोही छैन।”
पीडितहरूले सरकारसँग सहकारी सञ्चालकहरूको व्यक्तिगत सम्पत्ति जफत गरेर भए पनि आफूहरूको बचत रकम फिर्ता गराउन माग गरेका छन्। तर, यतिबेला सम्म सरकारले गम्भीर पहल नगरेको उनीहरूको गुनासो छ।
सहकारी पीडित संघर्ष समितिका अनुसार, सरकारले तत्काल समस्या समाधान नगरे आन्दोलनलाई अझ कडा बनाइने चेतावनी पनि दिइएको छ। “हाम्रो सब्रको सीमा सकिँदैछ। अब हामी अझ बढी उग्र बन्नेछौं,” संघर्ष समितिका एक अगुवा सदस्यले बताए।
देशभर फैलिएको सहकारी संकटले हजारौं नेपाली परिवारलाई सडकमा ल्याइदिएको छ। सरकारले पीडितहरूका पीडा सुन्ने र तिनको न्याय सुनिश्चित गर्ने दिशा तर्फ तत्कालै गम्भीर पहल नगरे यो संकटले गम्भीर रूप लिन सक्ने संकेत देखिएको छ।
Discussion about this post