हुलाकी सडक निर्माणमा ठेकेदारको लाप्रवाहीका विरुद्ध बेलौरीका स्थानीय आन्दोलित, सडक अवरुद्ध

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका विरुद्ध आन्दोलित भएका छन् । आज सोमवार दिउँसो उनीहरुले कलकत्ता र रतनपुरबीचको पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै आक्रोश पोखेका हुन् ।

२०७३ सालदेखि निर्माण थालिएको हुलाकी सडकको काम अझै अलपत्र छ । जिम्मा पाएको सिद्धिशाही–बाबाहंश जेभीले पटक–पटक समय थपेर समेत काम सम्पन्न नगरेपछि स्थानीयको धैर्य टुटेको हो ।

“काम गर्दैन, बिल उठाउँछ,“ आक्रोशित स्थानीयहरू भन्छन्, “दुई–चार दिन देखाउन काम गर्छ, फेरि हराउँछ । अब त आन्दोलनबाहेक विकल्प छैन ।“

६२ किलोमिटर लम्बाइको डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडक तीन खण्डमा विभाजन गरिएको छ । बेलौरीदेखि बेलडाँडीको २० किलोमिटर र बेलडाँडी–दैजीको २२ किलोमिटर खण्डमा करिब आठ पटक समय सिमा थपिएको भए पनि कामले गति लिएको छैन ।

सडकको हालको अवस्था दयनीय छ। गाडी गुड्दा उड्ने धुलोले वरपरका घर सेताम्य छन्, पानी पर्दा सडक हिलोले पोखिन्छ । “गर्भवती महिला, बिरामी बोक्न हिलाम्मे सडकमा गाडी लैजान सकस छ,“ स्थानीय बताउँछन् ।

४१ करोड ४१ लाख रुपैयाँ लागतमा ३० महिनामा सक्नुपर्ने काम ९ वर्षमा पनि ७५ प्रतिशत मात्र सम्पन्न भएको छ । बेलडाँडी–दैजी खण्डमा शर्मा–राजेन्द्र जेभीले निर्माण गरिरहेको २२ किलोमिटर सडक पनि ८० प्रतिशतमा मात्र पुगेको छ ।

“भुक्तानी चाहिँ बेलैमा, कामचाहिँ ढिलो,“ आन्दोलनमा उत्रेका स्थानीयको आरोप छ, “अब सरकारले ठेकेदारलाई कारबाही नगरे हामी अझ उग्र आन्दोलनमा जान्छौँ ।“ सडक निर्माणमा देखिएको चरम लापरवाहीले सरकार र आयोजनाको प्रभावकारी अनुगमन प्रणालीमाथि पनि प्रश्न उठेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित