रेशम चौधरी प्रज्ञाभवनबाट पक्राउ, सर्वोच्चको आदेश कार्यान्वयनमा डिल्लीबजार कारागार लगियो

काठमाडौं :नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई प्रहरीले मंगलबार काठमाडौंको प्रज्ञाभवन, कमलादीबाट पक्राउ गरेको छ। पार्टी एकता घोषणा सभास्थलबाटै चौधरीलाई पक्राउ गरिएको हो। पक्राउपछि उनलाई डिल्लीबजार कारागारमा लगिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न चौधरीलाई नियन्त्रणमा लिइएको हो। “हामीले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरेका हौं,” उनले भने, “उहाँलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेका हौं।”

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य आरोपीका रुपमा अदालतले चौधरीलाई जन्मकैदको सजायँ सुनाएको थियो। तर राष्ट्रपतिबाट कैद मिनाहा पाएका उनी २०८० साल जेठ १५ गते जेलमुक्त भएका थिए।

तर आममाफीविरुद्ध सर्वोच्च अदालतमा शारदा कडायतले रिट दर्ता गराएकी थिइन्। कडायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन्। सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले राष्ट्रपतिबाट दिइएको आममाफी उल्टाइदिएपछि चौधरी पुनः पक्राउ परेका हुन्।

टीकापुर हिंसात्मक घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो। सो घटनालाई लिएर चौधरीमाथि आरोप लागेको थियो।

चौधरी पक्राउ परेपछि प्रज्ञाभवन परिसरमा रहेका नाउपा कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित