कञ्चनपुर प्रहरी प्रमुख चक्रराज जोशीको १४ महिने कार्यकाल सफल र निर्विवादित

कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीको १४ महिने कार्यकाल सफल र निर्विवादित रह्यो । शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा नागरिकसँगको सम्बन्ध सुदृढ गर्न जोशीले उल्लेखनीय भूमिका निर्वाह गरे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित प्रगतिप्रतिवेदन सार्वजनिक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै एसपी जोशीले आफ्नो कार्यकालका प्रमुख उपलब्धिहरू प्रस्तुत गरे । विगतका प्रहरी प्रमुखहरू विभिन्न विवादमा तानिँदै आएका भए पनि जोशीले नेतृत्व सम्हालेदेखि नै शुद्ध, निष्पक्ष र प्रभावकारी सेवा प्रवाह गरेका छन् ।

०८१ साल फागुनको पहिलो साताबाट कञ्चनपुरको कमाण्ड सम्हालेका एसपी जोशीले फरार अभियुक्त नियन्त्रणदेखि ठूला आपराधिक घटनाको सफल अनुसन्धानमा समेत महत्वपूर्ण सफलता हासिल गरे ।
जिल्ला प्रहरी कार्यालयका तथ्याङ्कअनुसार, विभिन्न अपराधमा मुछिएका १,२६५ फरारमध्ये चालु आर्थिक वर्षको १० महिनामै ३९७ जना पक्राउ परेका छन् । विगत दुई आर्थिक वर्षमा क्रमशः ९२ र २४५ जना फरार पक्राउ परेका थिए ।

भन्सार चोरीछली तथा अवैध कारोबार नियन्त्रणमा समेत प्रहरीले उल्लेखनीय उपलब्धि हात पारेको छ । गत आर्थिक वर्षमा ६ करोड ३७ लाखभन्दा बढीको चोरीछलीका सामान बरामद भएकोमा चालु वर्षको वैशाख दोस्रो सातासम्म ६ करोड १६ लाखबराबरका अवैध वस्तु बरामद गरिएको छ । अवैध काठ कारोबार नियन्त्रणमा पनि प्रहरीले सक्रियता देखाएको छ — ३४३ क्युफिट अवैध काठसहित ११ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।

लागूऔषध नियन्त्रणतर्फ गत वर्ष २८७ जना तथा चालु वर्ष वैशाख दोस्रो सातासम्म २०० जना पक्राउ परेका छन् । लागूऔषध ब्राउनसुगर, चरेश, गाँजा, एम्पुल र ट्याब्लेटसमेत बरामद गरिएको छ । यस्तै, जुवातासमा संलग्न १७० जनालाई नियन्त्रणमा लिइ १२ लाख ३० हजारभन्दा बढी रकम बरामद गरिएको छ ।

यसबाहेक, बन्यजन्तु ओसारपसार, वेश्यावृत्ति नियन्त्रण, घरेलु तथा आपराधिक हत्याका घटनामा पनि प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ । भीमदत्त–८ तिलाचौरमा पूर्व प्रहरी जवानद्वारा श्रीमतीको हत्या, लालझाडी गाउँपालिकामा दम्पती हत्या लगायतका घटनामा अभियुक्तहरूलाई पक्राउ गरी कारवाही गरिएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ५५९ वटा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिँदै झण्डै १६ हजार नागरिकलाई प्रहरी सेवामा सहभागी गराइएको छ। प्रहरी हिरासतको मर्मत, पुस्तकालय स्थापना, वृक्षारोपण तथा मेलमिलाप चौतारीजस्ता आन्तरिक सुधार कार्यक्रमहरू समेत सञ्चालन गरिएको छ ।

एसपी जोशीको कार्यकालमा हरिकिसन राना र रामरेशर राना हत्याकाण्ड लगायतका घटनाको गम्भीर अनुसन्धान भइरहेको जनाइएको छ । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई समेत निरन्तरता दिइएको जोशीले बताए ।

जिल्लावासी र सरोकारवाला निकायहरूले जोशीको नेतृत्वको उच्च सराहना गरेका छन्। उद्योग वाणिज्य संघदेखि विभिन्न संघसंस्थाले उनलाई बिदाइ गरेका छन्। आफू जहाँ भए पनि कानुनअनुसार इमान्दारितापूर्वक सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै जोशी हालै प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार ललितपुर जिल्ला प्रहरी परिसरको नेतृत्व सम्हाल्न गएका छन्।

कञ्चनपुर प्रहरी प्रमुखको नयाँ जिम्मेवारी नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगरमा कार्यरत एसपी खड्कबहादुर खत्रीले सम्हाल्ने भएका छन् ।
जिल्लावासीहरूले नयाँ नेतृत्वसँग पनि सेवा प्रवाहमा निरन्तर सुधारको अपेक्षा राखेका छन् । विश्वास गरिन्छ, एसपी जोशीले ललितपुरमा पनि उस्तै जोश, समर्पण र निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित