बेलडाँडीमा आरसीसी सडक भत्किन थाल्यो : कमसल निर्माण सामग्री प्रयोग

बेलडाँडी । बेलडाँडी गाउँपालिका–३ स्थित शिवनगर पुलदेखि खैरीघाट चोक हुँदै बेलडाँडी खल्ला नहर सम्मको आरसीसी सडक खण्ड कमसल सामग्री प्रयोगका कारण भत्किन थालेको छ ।

ठेक्का पाउने कम्पनीले सम्झौतामा उल्लेख भएभन्दा कमजोर गुणस्तरका सामग्री प्रयोग गर्ने प्रचलन नौलो नभए पनि यस पटक बेलडाँडीमा निर्माण भएको सडक एक वर्ष नपुग्दै उप्किन थालेपछि स्थानीय बासीहरु चिन्तित बन्दै गएका थिए ।

बेलडाँडी गाउँपालिकाले सडकको मर्मतका लागि निर्माण कम्पनीहरुलाई पत्राचार गरे पनि कम्पनीहरुले अटेरी गरेका छन् । पालिकाका अनुसार शिवनगर पुलदेखि खैरिघाट चोक हुँदै नहरसम्मको सडकखण्ड उप्किन थालेको छ ।

पालिकाले चन्द्रशेखर डिजाइन एण्ड कन्स्ट्रक्सन प्रा.लि. धनगढी, राजधानी कन्स्ट्रक्सन पुचौंडी बैतडी, र भविष्य कन्स्ट्रक्सन दुर्गाथली बझाङलाई मर्मतका लागि पत्र काटेको जनाएको छ । तीमध्ये सबैभन्दा बढी चन्द्रशेखर डिजाइन एण्ड कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण गरेको सडक भाग उप्किएको पाइएको छ ।

बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले निर्माण कम्पनीले निर्माण कार्यमा लार्पवाही गरेकाले यस्तो समस्या आएको बताए । उनले भने, “कोलोपत्रे भन्दा आरसीसी सडक मजबुत हुन्छ भनेर विश्वास गरेका थियौं, तर सडक एक वर्ष, सवाबर्ष नपुग्दै भत्किनु अत्यन्त दुःखद भएको छ । अनुगमन समितिले कस्तो अनुगमन ग¥यो, हाम्रो प्राविधिक टोलीले के गयौं ।“

चन्द्रशेखर डिजाइन एण्ड कन्स्ट्रक्सनले आ.व. २०७९/८० मा ३५८ मिटर लम्बाइ र ७ मिटर चौडाइको सडक निर्माणका लागि ८८ लाख ६१ हजार ९१५ रुपैयाँमा सम्झौता गरेको थियो ।

राजधानी कन्स्ट्रक्सनले आ.व. २०८०/८१ मा ६५१ मिटर लम्बाइ र ७ मिटर चौडाइको सडक निर्माणका लागि १ करोड ८५ लाख ५६ हजार ६०२ रुपैयाँमा सम्झौता गरेको थियो ।

भविष्य कन्स्ट्रक्सनले सोही वर्षमा ९८ मिटर लम्बाइको सडक निर्माण गर्न ४२ लाख ८५ हजार ९६१ रुपैयाँमा सम्झौता गरेको थियो ।

त्यस्तै, मष्टा निर्माण सेवा धनगढी र नेपाल आदर्श डेभलपर्स न्यू जोशी जेभीले पनि सो सडक खण्डमा आरसीसी निर्माण कार्य गरेका थिए ।

स्थानीय बासिन्दाले निर्माण कम्पनीले बजेट पचाउन कमजोर काम गरेको आरोप लगाउँदै कडा कारबाहीको माग गरेका छन् । उनीहरुले सबै पक्षको मिलेमतोमा यस्तो काम भएको हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन् ।

पालिकाले निर्माण कम्पनीहरुलाई मर्मतका लागि चेतावनी पत्र काटिसकेको र थप कडा कदम चाल्ने तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित