शुनिल राना, कञ्चनपुर । भीमदत्त नगरपालिकाले विपद् पूर्व तयारी र जोखिम व्यवस्थापन सम्बन्धी संचारकर्मीहरूलाई लक्षित सचेतना कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यशालामा संचारकर्मीहरू र सरोकारवालाबीच विपद् व्यवस्थापनका विभिन्न पक्षमा छलफल गरिएको थियो ।
नगरपालिकाको विपद् शाखा प्रमुख मनोज भट्टले विपद् जोखिम न्यूनिकरण तथा समयमै उद्धार कार्य प्रभावकारी बनाउन संचारकर्मीहरूको भूमिकालाई महत्वपूर्ण बताउँदै, यस्तो गोष्ठीले जानकारी र तयारी अभिवृद्धि गर्ने बताए।
“विपद् पूर्व, विपद् बेला र विपद् पश्चात संचारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ,“ भट्टले भने, “सचेतिकरणमार्फत जोखिम व्यवस्थापनमा प्रभावकारी योगदान पुर्याउन सकिन्छ।“
कार्यक्रममा प्रशासकीय अधिकृत हरिसिंह धामीले विपद् व्यवस्थापनका हरेक चरणमा संचारकर्मीहरू सशक्त माध्यम बन्ने उल्लेख गरे। विपद् विज्ञ हिमाल थापाले कार्यपत्र प्रस्तुत गर्दै विपद् बेला प्रभावकारी संचारको आवश्यकता र जिम्मेवारीबारे प्रकाश पारे।
भीमदत्त नगरपालिकाका उपमेयर निलम लेखकले विपद् न्यूनिकरणका लागि पालिकाले विभिन्न तयारीहरू अघि बढाएको जानकारी दिइन्।
“जनशक्ति व्यवस्थापनदेखि स्रोत साधन परिचालन, पुर्व सूचनाको प्रवाह, उद्दार तथा राहत कार्यसम्मका तयारीहरू हामीले अघि बढाएका छौं,“ उनले भनिन्, “विपद्का बेला मानवीय संवेदनशीलता उच्च हुने भएकाले संचारकर्मीहरूले समेत गम्भीर भई कार्य गर्नु आवश्यक छ।“
कार्यक्रममा विपद् व्यवस्थापन क्षेत्रमा सक्रिय विभिन्न संघसंस्था तथा सरोकारवालाहरूको उपस्थिति थियो । नगरपालिकाले विपद् पूर्व तयारी, विपद् बेला व्यवस्थापन तथा विपद् पश्चात राहत र पुनर्निर्माण कार्यमा स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै अघि बढ्ने जनाएको छ।
Discussion about this post