कञ्चनपुर, कानुन व्यवसायी तथा ‘जोशी ल एन्ड एसोसिएट्स’ अनामनगर, काठमाडौँका सञ्चालक अधिवक्ता दीपकराज जोशीले कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलास्थित बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्रीसहित १५ वटा शैक्षिक टोकरी सहयोग गरेका छन्।
आज एक कार्यक्रमबीच विद्यालयका प्रत्येक शिक्षकलाई एक–एक ओटा टोकरी वितरण गरिएको हो। टोकरीमा कक्षा सञ्चालन तथा शैक्षिक सहजीकरणमा आवश्यक सामग्रीहरू जस्तै— कैँची, स्टिच, ग्लुस्टिक, टेप, पन्चिङ्ग मेसिन, स्केल, टिपेक्स, हाइलाइटर, पेन्सिल कलर, साइनपेन कलर, ब्यान्डेज, रातो–कालो डटपेन, पेन्सिल, कटर, मेटर, शिक्षक डायरी आदि समावेश छन्।
त्यस्तै, साना कक्षाका विद्यार्थीलाई शिक्षण सहज बनाउने उद्देश्यले केही टोकरीमा ऐना, काइँयो, नङकटर र साबुनजस्ता सामग्री समेत राखिएको छ। विद्यालयका अनुसार यी सामग्रीले कक्षा सञ्चालनमा सहजता ल्याउने र शिक्षकलाई सिर्जनशील ढङ्गले अध्यापनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
विद्यालयका प्रधानाध्यापक तीर्थराज भट्टले सामुदायिक विद्यालयको सशक्तीकरणमा यस्ता साना तर महत्वपूर्ण सहयोगहरूले ठूलो अर्थ राख्ने बताए। उनले भने, “यी सामग्रीहरू सामान्य देखिए पनि शिक्षकका लागि आवश्यक औजार हुन्। विद्यालयले एक–दुई सेट किन्न सक्थ्यो होला तर प्रत्येक शिक्षकलाई एक–एक टोकरी उपलब्ध गराउन हामी सक्षम छैनौं। यस सहयोगका लागि हामी अधिवक्ता जोशीप्रति अत्यन्त आभारी छौं।”
प्रधानाध्यापक भट्टले विद्यालय शिक्षालाई सबैको सरोकारको विषय भन्दै सामुदायिक विद्यालयप्रति नकारात्मक धारणा फैलाउनेभन्दा सकारात्मक सहयोग गर्ने संस्कार आवश्यक रहेको पनि बताए।
सामाजिक कार्यमा सक्रिय अधिवक्ता जोशीले यसअघि पनि विभिन्न अवसरमा शिक्षा, स्वास्थ्य र समुदाय विकासका क्षेत्रमा योगदान दिँदै आएका छन्। उनले आफूले सकेको सहयोग गर्दै सामुदायिक विद्यालयहरूको सुदृढीकरणमा योगदान दिन पाउँदा सन्तोष लागेको बताए।
Discussion about this post