कञ्चनपुर, दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वन क्षेत्रमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहका लागि रुख कटान सुरु गरिएको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीका अनुसार एक साता अघि सुरु गरिएको रुख कटानअन्तर्गत अहिलेसम्म ५०० वटा रुख काटिएको छ।
“निर्माणका लागि कुल १,५९३ वटा रुख काट्नुपर्नेछ,” केसीले जानकारी दिनुभयो, “रुख कटानका लागि ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।”
सुख्खा बन्दरगाह भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदैछ। नेपाल सरकार र भारत सरकारबीच २०२३ जुन १ मा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार भारतीय पक्षले बन्दरगाह निर्माणका लागि २ अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँमा ठेक्का आह्वान गरिसकेको छ।
४२.३६ हेक्टर क्षेत्रफलमा बन्ने बन्दरगाहमा दुईवटा गोदाम, भन्सार चेकजाँच केन्द्र, क्वारेन्टाइन भवन, इमिग्रेशन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण गरिनेछ। निर्माणस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण गरेपछि पूर्वाधार निर्माणको काम सुरु हुनेछ।
नेपालले बन्दरगाहसम्मको पहुँच सहज बनाउन ६ लेनको पहुँच मार्ग तथा महाकाली नदीमाथिको ४ लेनको पक्की पुल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। भारतले पनि आफ्नो तर्फबाट बन्दरगाहसम्मको पहुँच मार्ग निर्माण गरिरहेको छ।
वि.सं. २०६४ मा पहिलो पटक प्रस्ताव गरिएको सुख्खा बन्दरगाह योजनाले करिब १८ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको हो। पश्चिमी नाका सञ्चालनमा आएपछि सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
Discussion about this post