बेलडाँडी । “एक इमानदार श्रमिक, मेहनती भैंसी पालक किसान“ भनेर चिनिने हरिकिशन राना बैशाख ९ गते विहान संकास्पद अवस्थामा मृत फेला परेका थिए । बेलडाँडी गाउँपालिका–३ खैरीघाट कमरी निवासी राना, बेलौरी नगरपालिका–१० स्थित निर्मल आर्यघाट नजिकै मोटरसाइकल सहित जलिरहेको अवस्थामा फेला परेपछि पुरै गाउँ शोकमा डुबेको थियो ।
१५ दिन बितिसक्दा पनि घटनाको यथार्थ बाहिर आउन नसक्नुले परिवार, समुदाय र आम सर्वसाधारणमा चिन्ता र आक्रोश थपिएको छ । प्रारम्भिक अनुसन्धानले देखाएको विवरणअनुसार, रानाको हत्या गरी प्रमाण नष्ट गर्ने नियतले गाडीमा आगो लगाइएको हुनसक्ने आशंका गरिएको छ । घटनास्थलमा भेटिएका प्रमाण र शवको अवस्था हेर्दा हत्या पुष्टि गर्ने संकेत भेटिएको परिवारका सदस्यहरूले बताएका छन् ।
रानाको मृत्युलाई लिएर उनको परिवार र समुदायले सत्यतथ्य छानबिनको माग गर्दै सरकारका विभिन्न तहमा दवाव सिर्जना गर्दै आएका छन् । नेपाल सरकारका गृहमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, जिल्ला प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाईसकेको र चाँडो निष्कर्ष ननिस्किएको खण्डमा कडा कदम चाल्ने चेतावनीसमेत दिईसकेका छन् ।
“महान सपना बोकेर बाँचिरहेका किसानलाई निर्दयी हत्या गरी आगोमा जलाउनु अत्यन्त जघन्य अपराध हो । दोषी जो कोही भए पनि हदैसम्मको कारबाही होस्,“ राना समुदायले आक्रोश पोख्दै भने ।
उनीहरूले हाललाई संयमता अपनाएको स्पष्ट पारेका छन् । “हामी आन्दोलन गर्न सक्दछौं, तर अनुसन्धानमा बाधा नपरोस् भनेर धैर्य गरिरहेका छौं,“ एक परिवारजनले भने, “हाम्रो शान्तता कमजोरी नठानियोस् । यदि सत्यतथ्य छिट्टै बाहिर आएन भने हामी सडकमा ओर्लन बाध्य हुनेछौं ।“
प्रहरी स्रोतका अनुसार, अनुसन्धान सक्रिय र गम्भीर ढंगले अगाडि बढिरहेको छ । प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (cib) को विशेष टोलीसमेत खटाइएको छ । घटनास्थलबाट संकलन गरिएका प्रमाण, मृतकको मोबाइल, पैसा, कागजात, सीसीटीभी फुटेज लगायत सबै कोणबाट अनुसन्धान भइरहेको छ ।
“अनुसन्धान सुक्ष्म र बृहत ढंगले भइरहेको छ । केही समय लाग्न सक्छ, तर हामी दोषी पहिचान र कारबाहीमा कुनै ढिलासुस्ती गर्दैनौं,“ प्रहरी स्रोतले भन्यो ।
यसैबीच गृहमन्त्री रमेश लेखकले पनि घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै प्रहरीले निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिएका छन् । “पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकार पूर्ण प्रतिबद्ध छ,“ गृहमन्त्रीले ज्ञापन बुझाउने टोलीलाई भनेका छन् ।
रानाको रहस्यमय मृत्युले स्थानीय बासिन्दालाई शोकमात्र होइन, असुरक्षा र आशंकाले पनि घेरेको छ । अन्य किसान तथा स्थानीयहरूसमेत आफूहरू असुरक्षित महसुस गरिरहेको बताउँछन् ।
समाजका अगुवा व्यक्तिहरूले यो घटना कुनै व्यक्तिगत द्वन्द्व मात्र नभइ, गाउँकै सामाजिक संरचनामा असर पार्ने गम्भीर अपराध भएकाले सत्यतथ्य उजागर गर्न राज्यले ढिलाइ गर्न नहुने बताएका छन् ।
“यस्ता घटनाले राना समुदायमा भय र निराशा फैलाउँछ । हरिकिशन रानालाई न्याय दिनु भनेको सम्पूर्ण श्रमिक र कृषक वर्गको सम्मान गर्नु हो,“ स्थानीय अगुवाले भने ।
१५ दिनपछि पनि जब रानाको मृत्युको यथार्थ अन्धकारमै छ, तब स्थानीय जनतामा न्याय पाउने आशा र राज्यप्रति विश्वासको परीक्षा भइरहेको छ । अनुसन्धान निक्र्योलतिर अघि बढिरहेको प्रहरीको भनाइले केही आश्वस्ति दिलाए पनि, सत्य र न्यायको अपेक्षा अझै पूर्ण भएको छैन ।
अब केही दिनभित्र प्रहरी अनुसन्धानले दोषी पहिचान गरेर कानुनी दायरामा ल्याउन सकेन भने, राना परिवार र समुदायको धैर्यता चुक्न सक्छ । र तब यो आन्दोलनको रुप लिन सक्ने संकेतहरू प्रस्ट देखिन थालेका छन् ।
Discussion about this post