काठमाडौं : काठमाडौंको कोटेश्वर–तीनकुने सडक खण्डस्थित मुनिभैरव मन्दिर नजिक आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा नुवाकोट स्थायी घर भई ललितपुरमा बसोबास गर्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको छ। उनी मोटरसाइकलको पछाडि सवार थिइन्। ट्रमा सेन्टरमा उपचारको क्रममा उनको निधन भएको प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।
घाइतेमध्ये मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगरका रत्न सार्की र बसमा सवार काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी रहेका छन्।
दुर्घटना आज बिहान साढे ६ बजे भएको हो। बा ३ ख ७०६२ नम्बरको बसले रोकिएको बा प्र ०१–०२६ च २९२७ नम्बरको भ्यान र बा प्र ०२–०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
घटनापछि बसका चालक इलाम सूर्योदय नगरपालिका–५ का ५९ वर्षीय रामकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Discussion about this post