कंचनपुर – निर्वाचन आयोगले माओवादी केन्द्रकी नेतृ बिनाा मगरलाई स्पष्टीकरण सोधेको छ । कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिना मगरलाई आयोगले बुधवार स्पष्टीकरण सोधेको हो ।
माओवादी केन्द्रकी नेतृ मगरले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेकी थिईन । उनले घरदैलो कार्यक्रमलाई आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक गरेकी थिईन् । मगरविरुद्ध उजुरी परेपछि आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा “स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने” र खण्ड (ण) मा “निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने” व्यवस्था छ ।
मगरलाई निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
मगरलाई सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ ‘तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ । ’
Discussion about this post