काठमाडौं, बैशाख ३० – कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का सांसद तारा लामा तामाङले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूको पीडा तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले विस्थापित नागरिकहरू विगत २०५८ सालदेखि नै पुनःस्थापनाको पर्खाइमा रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार हालसम्म सरकारले ३२ वटा आयोग गठन गरे पनि पीडितहरूको समस्या समाधान हुन सकेको छैन।
“ढक्का शिविरलगायतका स्थानहरूमा पीडितहरू असहज र जोखिमपूर्ण जीवन बिताइरहेका छन्,” सांसद तामाङले भन्नुभयो, “आरक्ष प्रशासनको कारबाही, जंगली जनावरको आक्रमण, सर्पबिच्छीको टोकाइ, हावाहुरी र वर्षाले हुने क्षति तथा भूमि नपाउने चिन्ताले उनीहरूको जीवन झनै कष्टकर बनेको छ।”
उहाँले विस्थापित परिवारहरूका बालबालिकाको भविष्य अन्योलमा परेको भन्दै मानवीय आधारमा तत्काल राहत र पुनःस्थापनाको व्यवस्था मिलाउन आग्रह गर्नुभयो। साथै, भूमि ऐन ल्याई दीर्घकालीन समाधान सुनिश्चित गर्न सरकारसँग कडा रूपमा माग गर्नुभएको छ।
“सरकारले अब ढिलो गर्नु हुँदैन,” सांसद तामाङको भनाइ थियो, “आरक्षपीडितको न्यूनतम आवश्यकता पूरा गर्न स्पष्ट नीति र तत्परता आवश्यक छ।
Discussion about this post