बेलडाँडी, कञ्चनपुर । सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब सरस्वती युथ क्लबका प्रतिभावान् खेलाडी धीरेन्द्रबहादुर शाहमाथि लगाइएको प्रतिबन्ध अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुकुवा गरेको छ। सोमबार एन्फाले औपचारिक पत्राचारमार्फत निर्णय सुनाउँदै शाहमाथिको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो।
एन्फाले सरस्वती क्लबको अपिल उपर निर्णय गर्दै शाहलाई अब फिफा कनेक्ट प्रणालीअनुरूप खेल्न योग्य ठहर गरेको हो। एन्फाको पत्र अनुसार उनी अब सरस्वतीको टोलीमा दर्ताअनुसार लिगमा सहभागिता जनाउन सक्ने भएका छन्।
यसअघि एन्फाले धीरेन्द्रलाई लिगको तेस्रो खेलबाट प्रतिबन्ध लगाएको थियो। टुसाल युथ क्लबसँगको म्याद नाघेको पुरानो सम्झौताको कारण देखाउँदै एन्फाले लिग सहभागितामा रोक लगाएको थियो। तर सरस्वती युथ क्लबले सुरु देखिनै उक्त प्रतिबन्ध आधारहीन रहेको भन्दै अपिल दर्ता गराएको थियो।
प्रतिबन्ध फुकुवापछि धीरेन्द्र अब सरस्वतीका बाँकी तीन महत्त्वपूर्ण खेल — वीरगन्ज युनाइटेड, भगवती क्लब टोखा र कुमारी क्लबविरुद्ध — मा खेल्न पाउने भएका छन्।
यसअघि खेलेका दुवै खेलमा धीरेन्द्रले समान एक–एक गोल गर्दै प्रभावशाली प्रदर्शन गरेका थिए। तर उनको टोली सरस्वती युथ क्लब लिगको पुछारतर्फ रहेको छ। हालसम्म क्लबले १० खेलबाट ९ अंक जोडेको छ। क्लबको अवस्था १३औं स्थानमा छ, जसमा ३ खेल जित र ७ खेलमा हार बेहोरेको छ।
बेलडाँडीका शाहको प्रतिबन्ध फुकुवापछि सरस्वती युथ क्लबलाई लिगको बाँकी खेलमा नयाँ उत्साह र बलियो प्रदर्शनको आशा गरिएको छ।
Discussion about this post