बेलडाँडी, कञ्चनपुर । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माण अघि बेलडाँडी गाउँपालिकामा एकदिने बजेट पूर्व छलफल कार्यक्रम सम्पन्न भएको छ। छलफलमा स्थानीय विकासका प्राथमिकता, सीमित स्रोत साधनको प्रभावकारी उपयोग, पारदर्शिता तथा समावेशीकरणका उपायहरूबारे व्यापक विमर्श गरिएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐरको अध्यक्षता तथा उपाध्यक्ष शान्ति नाथको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघद्वारा सञ्चालित ‘समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना तथा समुदायमा आधारित कञ्चन सामुदायिक विकास केन्द्रको’ सहकार्य रहेको थियो।
कार्यक्रममा जनप्रतिनिधि, महिला, युवा, बालबालिका, अपांगता भएका व्यक्ति, संघसंस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायत विविध समुदाय र वर्गका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण विशन देव जोशी र ऋषि जैरुले गरेका थिए। जोशीले बजेट निर्माणमा कर्मचारी, जनप्रतिनिधि र स्थानीय नागरिक सबैको समान भूमिका महत्वपूर्ण हुने बताए । उनले योजना छनोटको चरणहरूबारे जानकारी दिँदै समावेशीकरण सुनिश्चित गर्न बजेट तर्जुमा प्रक्रियामा सबै वर्ग, लिंग, जाति र भूगोलका नागरिकको पहुँच र सहभागिता आवश्यक रहेकोमा जोड दिए ।
छलफलमा सीमित स्रोत साधनको अधिकतम उपयोगका लागि योजनाको प्राथमिकता तथ्यमा आधारित हुनुपर्ने र योजना छनोटमा नागरिक सहभागिता अनिवार्य रहेको धारणा प्रस्तुत गरिएको थियो। योजनाको अनुगमन र मूल्यांकनमा समुदायको भूमिकालाई अझ मजबुत बनाउने सुझाबहरू पनि आएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शान्ति नाथले भनिन्, “बजेट जनताको हो। त्यसैले हामी जनताको आवाजअनुसार नै नीति र योजना निर्माण गर्न कटिबद्ध छौं।”
सहजीकरणकर्ता ऋषि जैरुले सहभागी संवाद, तथ्य–प्रमाणमा आधारित छलफल र समावेशी अवधारणालाई बजेट निर्माण प्रक्रियामा आत्मसात् गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
कार्यक्रमले नागरिक सहभागिता र जनउत्तरदायीताको अभ्यासलाई संस्थागत गर्दै आगामी बजेटलाई अझ प्रभावकारी र जनमुखी बनाउने बलियो आधार तयार गरेको सहभागीहरूको विश्वास छ।
Discussion about this post