काठमाडौं । पोखरा महानगरपालिका–२२ स्थित दहराघुम्ती नजिकै सोमबार बिहान एक नगर बस दुर्घटनामा परेको छ। स्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर सडकबाट तल खस्दा दुर्घटना भएको हो।
छोरेपाटन बजारदेखि केही माथि घुम्तीमा रहेको उक्त स्थानबाट बस खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार, बसमा २६ जना यात्रु सवार थिए। दुर्घटनामा परेर चालक, सहचालकसहित २२ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको डीएसपी हरि बस्नेतले जानकारी दिए।
घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम गम्भीर रहेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Discussion about this post