डोटी — सेती नदीमा डुबेर बेपत्ता भएका डोटीको दिपायल सिलगढी नगरपालिका–१ सिरखोलीका ९ वर्षीय अमित विकको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ।
मंगलबार दिउँसो करिब पौने २ बजेको समयमा नदीमा डुबेका बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोर टोलीले बुधबार दिउँसो करिब १ बजे बालकको शव ३० फिट गहिराइबाट निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरीले जनाएको छ।
बालक डुबेको स्थान गहिरो र तीव्र बहाव भएको क्षेत्र भएकाले उद्धार कार्य चुनौतीपूर्ण रहेको थियो। गोताखोर टोलीका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र बमको नेतृत्वमा परिचालित टोलीले निरन्तर प्रयासपछि शव फेला पार्न सफल भएको हो।
नदी किनारमै खेलिरहेका बेला अचानक पानीमा चिप्लिएर बालक डुबेको हुन सक्ने अनुमान गरिएको छ। घटनाले स्थानीयबासीलाई स्तब्ध बनाएको छ भने परिवार शोकमा डुबेको छ।
Discussion about this post