बेलडाँडी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी जेठ ११ गतेबाट प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सिफारिस गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जेठ ११ गते बिहान ११ बजे बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो। अघिल्लो अधिवेशन चैत २५ गते राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरिएको थियो।
सुदूरपश्चिमको दोस्रो कार्यकालको प्रदेश सभाले तीन वर्ष पूरा गरे पनि कानुन निर्माणको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सकेको छैन। हालसम्म केवल केही संशोधन ऐनहरू मात्रै पारित भएका छन्।
प्रदेश सभा कार्यक्षमता प्रभावित हुनुमा विपक्षी दलको निरन्तर अवरोध पनि एक कारण बनेको छ। उनीहरूले फजुल खर्च कटौती, सुशासन कायम, योजनामा पारदर्शिता लगायतका माग राख्दै सभाको नियमित कार्यसूचीमै अवरोध गर्दै आएका छन्।
यसै कारण, अघिल्लो अधिवेशन सूचना टाँस गरेर औपचारिक रूपमा अन्त्य गर्नु परेको थियो।
अबको अधिवेशनमा कानुन निर्माण, बजेट पारित, तथा अवरोध अन्त्यको दिशामा सहमति खोज्ने प्रयास महत्वपूर्ण बन्ने देखिएको छ।
Discussion about this post