बेलडाँडी । एरिष्टो इङ्लिस बोर्डिङ्ग स्कुल, धनगढी कैलालीले बैजनाथ माध्यमिक विद्यालय बेलडाँडी ५, झिलमिलामा अध्ययनरत गरिब तथा विपन्न परिवारका ५० जना बालबालिकालाई विद्यालय पोशाक ः ट्रयाक, ट्राउजर र टिसर्ट सहयोग गरेको छ ।
एरिष्टो इङ्लिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल हरि क्षेत्री र प्रबन्ध निर्देशक शान्ति अधिकारी क्षेत्रीले ५० थान, विद्यालय पोशाक (त्रिपल सेट)को रकम बैजनाथ मा.वि.का प्रधानाध्यापक तीर्थराज भट्टलाई हस्तान्तरण गरी विद्यालयमार्फत उक्त वितरणको कार्य गरिएको हो ।
विद्यालयले जेठ ४ गते आइतवारका दिन सहयोगी संस्थालाई धन्यवाद विशेष कार्यक्रम गरी उक्त सहयोगबाट प्राप्त पोशाक विद्यार्थीहरुलाई वितरण गरेको हो । वि.व्य.स.का अध्यक्ष राम बहादुर शहूको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा बेलडाँडी गा.पा. वडा नं. ५ का वडाअध्यक्ष ईन्द्र खड्का थिए भने शि.अ.सं.का अध्यक्ष करणसिँह मडैलगायतका अभिभावक र शिक्षक कर्मचारी तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
बैजनाथ माध्यमिक विद्यालय, बेलडाँडी ५ झिलमिलामा करिब २ सय ७० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । तीमध्ये ५० भन्दा बढी बालबालिका आमा वा बुवा नभएका, आमाबुवा नभएका तथा अति नै विपन्न परिवारका रहेको कुरा विद्यालयका प्रधानाध्यापक तीर्थराज भट्ट बताए । आफ्नो वरिपरिका विद्यालयहरूले नियमित पोशाकका साथै ट्रयाक ड्रेस लगाएको देख्दा आफ्ना विद्यार्थीले पनि रहर गरेको तर आर्थिक अवस्था सहज नभएको अवस्थामा एरिष्टोले गरेको सहयोग निकै प्रशंसनीय रहेको कुरा प्र.अ.ले बताए ।
पोशाक वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी ५ का वडा अध्यक्षले विद्यालय र विद्यार्थीलाई सहयोग गर्नेप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालय सबैको साझा थलो भएकाले आफूले सकेको सहयोग सबैले गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । कार्यक्रमका सभापति वि.व्य.स.का अध्यक्षले विद्यालयलाई गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै अरूका लागि पनि यो कार्य प्रेरणादायी भएको बताए ।
धनगढी ८, क्याम्पस रोडमा अवस्थित एरिष्टो इङ्लिस बोर्डिङ्ग स्कुल शैक्षिक कार्यका साथै समाजिक कार्यमा पनि योगदान पु¥याउँदै आएको शैक्षिक संस्था हो भने त्यस संस्थाका प्रबन्ध निर्देशक शान्ति अधिकारी क्षेत्री र प्रिन्सिपल हरि क्षेत्री सामाजिक व्यक्तित्वका रूपमा परिचित व्यक्तित्व हुन् । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आर्थिकलगायतको सहयोग गर्दै आएको एरिष्टो, आगामी दिनमा पनि सकेको सहयोग गर्ने कुरामा प्रतिबद्ध रहेको कुरा शान्ति अधिकारी क्षेत्री बताए ।
बैजनाथ माध्यमिक विद्यालय बेलडाँडी ५ का हालका प्रधानाध्यापक तीर्थराज भट्टले यस अघि २०७९ सम्म सात वर्ष एरिष्टो इङ्लिस बोर्डिङ्ग स्कुलमा मा.वि. तहमा शिक्षण गरेका हुन् ।
त्यस्तै आजको कार्यक्रममा विद्यालयलाई शैक्षिक टोकरी सहयोग गर्ने अधिवक्ता दीपकराज जोशी र विद्यालयमा सरसफाइका लागि ठुलो डस्टबिनहरू र बाल्टीरू उपलब्ध गराउने डोटी क्याम्पस डोटीमा शिक्षण कार्यमा आबद्ध फणेन्द्र साउँदलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।
Discussion about this post