काठमाडौं: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन् ।
आजको बैठक विशेष गरी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी निर्णयका लागि महत्वपूर्ण हुने अनुमान गरिएको छ । यद्यपि, समाचार तयार पार्दासम्म गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक भने बसेको छैन ।
यसअघि सोमबार नियमित बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य कारण देखाउँदै बैठक स्थगित गरिएको बताएका थिए ।
आजको बैठकअघि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । सो छलफलपछि नै मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको संयोजक अर्थमन्त्री विष्णु पौडेल छन् । समितिमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा। पोषराज पाण्डे सदस्यका रुपमा छन् ।
तर गभर्नरको नाममा सहमति जुट्न नसक्दा सत्तारुढ दलभित्र नै विषय पेचिलो बन्दै गएको स्रोतको भनाइ छ ।
Discussion about this post