कञ्चनपुर — कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ झरनासागर स्थायी घर भई हाल काठमाडौंलाई कर्मथलो बनाएका खेलकुद पत्रकार हरिश सिंह नगाल राजधानीमा आयोजित एक प्रतिष्ठित तेक्वान्दो प्रतियोगितामा सम्मानित भएका छन्।
टोखा नगरपालिका, बसुन्धारामा सम्पन्न “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो च्याम्पियनसिप–२०८२” को समापन समारोहमा नगाललाई तेक्वान्दो तथा समग्र खेलकुदको प्रचार–प्रसार र विकासमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।
डेढ दशकअघिदेखि खेलाडी र पत्रकारको रूपमा क्रियाशील रहेका नगाल हाल बाह्रखरी डटकममा फोटो पत्रकारको रूपमा कार्यरत छन्। उनी राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रिय सदस्य, नेपाली मार्सल आर्ट बुदोकै-दो फुलकन्ट्याक्ट कराँते संघका केन्द्रिय सदस्य, ब्ल्याक बेल्ट ४ डान खेलाडी, प्रशिक्षक तथा राष्ट्रिय निर्णायक समेत हुन्।
उक्त सम्मान टोखा नगरपालिका–५ का वडाध्यक्ष मदन गुरुङ र हेराल्ड इन्टरनेशनल कलेजका कोर्डिनेटरले संयुक्त रूपमा प्रदान गरेका थिए।
मुख्य प्रशिक्षक रञ्जित गंडौरका अनुसार नगालले लामो समयदेखि तेक्वान्दो खेलमा सक्रिय भूमिका निर्वाह गर्दै खेलकुदको विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
सम्मानपछि प्रतिक्रिया दिँदै पत्रकार नगालले आफूले पाएको यो कदरले थप जिम्मेवारी बोध गराएको बताउँदै खेलकुद क्षेत्रमा अझ थप मेहनत र समर्पणका साथ लागिरहने प्रतिबद्धता जनाए।
Discussion about this post