बेलडाँडी । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै गृहजिल्ला फर्किएका बेलडाँडीका फुटबलर धिरेन्द्र बहादुर शाह र करन पाललाई बेलडाँडी गाउँपालिकामा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
फुटबलको यात्रा ग्रामीण जुराबको बलबाट सुरु गरेका शाह र पालले राजधानी काठमाडौँमा आयोजित ‘बी’ डिभिजन लिग प्रतियोगितामा आफ्नो कौशल प्रदर्शन गर्दै जिल्लाको मात्र नभई सम्पूर्ण सुदूरपश्चिमको नाम उज्यालो बनाएका छन् । उनीहरूको यही गौरवपूर्ण सफलतालाई सम्मान गर्न झिलमिला युवा समाजले विशेष कार्यक्रमको आयोजना गरी उनीहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेको हो ।
बेलडाँडी गाउँपालिका–५ का वडा अध्यक्ष इन्द्र बहादुर खड्का प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा युवाद्वयलाई फूलमालासहित भव्य स्वागत गरिएको थियो । झिलमिला समाजका अध्यक्ष अर्जुन उपाध्यायले धिरेन्द्र शाह र करन पाल जस्ता प्रतिभाशाली खेलाडीले बेलडाँडी मात्र होइन, सम्पूर्ण सुदूरपश्चिमको शान बढाएको भन्दै भविष्यमा उनीहरूलाई ए डिभिजन लिगमा खेलिरहेको हेर्न चाहेको बताए ।
धिरेन्द्र शाहले हाल सरस्वती युवा क्लबबाट तथा करन पालले च्यासल युथ क्लबबाट ‘बी’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीहरूले देखाएको आत्मविश्वास, खेल कौशल र समर्पणले राष्ट्रिय फुटबल क्षेत्रमा सकारात्मक सन्देश पु¥याएको आयोजकको भनाइ छ ।
बेलडाँडी गाउँपालिका–२ को मूलगेट क्याम्प क्षेत्रमा आयोजित स्वागत कार्यक्रममा गाउँले, साथीभाइ तथा स्थानीय युवाहरूको बाक्लो उपस्थिति थियो । शाह र पालको आगमनसँगै क्याम्प क्षेत्र र झिलमिलामा उत्सवको माहोल छाएको थियो ।
“धिरेन्द्र शाह केवल हाम्रो गाउँको होइन, राष्ट्रकै गहना हुन्,” आयोजक उपाध्यायले भने, “उहाँको प्रदर्शनले हामी सबैलाई गर्व महसुस गराएको छ ।”
कार्यक्रम सञ्चालन रौतेली स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी निलम भट्ट चन्दले गरेकी थिइन् । उनीहरूले शाह र पालको समर्पण र संघर्ष युवाहरूका लागि प्रेरणाको स्रोत भएको भन्दै निरन्तर सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरिन् ।
ग्रामीण पृष्ठभूमिबाट राष्ट्रिय फुटबलमा प्रभावशाली उपस्थितिका साथ फर्किएका शाह र पालप्रति समर्पित यो सम्मान समारोहले आगामी दिनमा खेलकुदमा लाग्ने अन्य युवालाई पनि थप हौसला प्रदान गर्ने आयोजकको विश्वास छ ।
Discussion about this post