सरस्वती माविलाई नमुना विद्यालय बनाउने पहल, सरोकारवालासँग सुझाव संकलन

लाल ब एसके/पुनर्वास । पुनर्वास नगरपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न आवश्यक गुरु योजना निर्माणको पहल सुरु गरिएको छ। सोही उद्देश्यले विद्यालयले समाजका विभिन्न पक्षसँग छलफल तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुनर्वास–२ का वडा अध्यक्ष डम्बर बहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा समाजसेवी रमेश थापा, रामसिंह बिष्ट, मानसिंह एसके, सुखबहादुर तामाङ, रामबहादुर देउकरलगायत स्थानीय बुद्धिजीवी, खेलप्रेमी, शिक्षक, अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयका सहायक प्रधानाध्यापक महावीर चन्दले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक जितेन्द्र पौडेलले विद्यालयमा देखिएका शैक्षिक र भौतिक चुनौतीहरू प्रस्तुत गर्दै शिक्षा सुधारका लागि समाजको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

“विद्यालयलाई नमुना बनाउने हो भने स्मार्ट ट्वाइलेट, सेमिनार हल, स्तरीय खेल मैदान, प्रविधिमैत्री कोर्स र प्राविधिक धारहरू आवश्यक छन्,” पौडेलले जोड दिए। उनले विद्यार्थीलाई गुणस्तरीय र आधुनिक शिक्षाबाट सुसज्जित बनाउन भवन निर्माणदेखि पाठ्यक्रम सुधारसम्म ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले पनि विद्यालयको समृद्ध भविष्यका लागि ठोस योजना र सामूहिक प्रयासको आवश्यकता औंल्याउँदै महत्वपूर्ण सुझावहरू प्रस्तुत गरे।

विद्यालय प्रशासनले प्राप्त सुझावहरूलाई समेटेर गुरु योजना तयार गर्ने र क्रमशः कार्यान्वयनमा लैजाने जनाएको छ।

प्रधानाध्यापक पौडेलको नेतृत्वमा विद्यालयले पछिल्ला वर्षमा उल्लेखनीय प्रगति गरेको छ। कोरोनाकालमा पनि अनलाइन कक्षा निरन्तर सञ्चालन गरेर पहिलोपटक विद्यालयमा अंग्रेजी माध्यम कक्षा सुरु गरिएको थियो। हाल कक्षा १ देखि १० सम्म इङ्लिस मिडियम सुचारु भएको र झण्डै ९०० विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

“कुनै बेला अस्तव्यस्त र घट्दो अवस्थामा पुगेको विद्यालय आज सुदृढ र अनुशासित अवस्थामा आइपुगेको छ,” प्रधानाध्यापक पौडेल भन्छन्, “यसमा शिक्षक, अभिभावक, स्थानीय बुद्धिजीवी र जनप्रतिनिधिको महत्त्वपूर्ण हात रहेको छ।”

हाल विद्यालयमा २५ जना कर्मचारी कार्यरत छन्। विद्यालय प्रशासनको नेतृत्वमा भइरहेको सकारात्मक परिवर्तनले सरस्वती माविलाई शिक्षा क्षेत्रको एक प्रेरणादायी मोडेलका रूपमा स्थापित गर्न सकिने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित