बेलडाँडी । बेलडाँडी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार र स्रोतको उचित उपयोगका लागि गाउँपालिका भित्रका ७ वटा सामुदायिक विद्यालयको तह घटाउने निर्णय अनुसार कार्यान्वयनमा गईरहेको छ । विद्यार्थी संख्या न्यून भएको र विद्यालय मापदण्ड नपुगेको कारणले तह घटाइएको गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले जानकारी दिनुभयो ।
गाउँपालिकाले हालै सम्पन्न शैक्षिक अध्ययन र मूल्याङ्कनको आधारमा विद्यालयहरूमा भौगोलिक दूरी, विद्यार्थी संख्या, भौतिक पूर्वाधारको अवस्था लगायतका पक्षलाई समेटेर निर्णय लिएको हो । अध्यक्ष रानाका अनुसार, “हामी विद्यालय विगार्न होइन, सुधार्न लागेका हौँ । विद्यार्थी संख्या कम भएका विद्यालयमा तह घटाएर शिक्षक अभाव हटाउने र लगानीको सदुपयोग गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न लागि परेको प्रष्ट पारेका छन्,“।
विद्यालयमा अनावश्यक तह राखेर गुणस्तरमा सम्झौता गर्नु गलत हुने भन्दै पालिकाले विद्यार्थी केन्द्रित निर्णय लिएको स्पष्ट पारिएको छ । “शिक्षा क्षेत्रमा करिब करोडौं लगानी गर्दै आएका छौँ, तर त्यस अनुसारको प्रतिफल देखिएको छैन । त्यसैले सुधारका कार्यक्रम अघि बढाएका हौँ,“ उहाँले स्पष्ट पार्नुभयो ।
पालिकाले यस निर्णयमा केही शिक्षक र अभिभावक भ्रममा परेको भन्दै अनावश्यक रूपमा आन्दोलन नगर्न आग्रहसमेत गरेको छ । “मैले मेरो स्वार्थ हेरेको होइन, बेलडाँडीको समग्र हितका लागि यो निर्णय लिएको हुँ । म आफैं पनि अभिभावक हुँ, यसमा सबैले साथ दिनुपर्छ,“ अध्यक्ष रानाले भावुक ढंगले भन्नुभयो ।
अध्यक्ष रानाले जनप्रतिनिधिको हैसियतमा आफू सधैं पारदर्शिता र निष्ठाको पक्षमा रहेको बताउँदै अहिलेसम्म कुनै आर्थिक अनियमितता नगरेको पनि उल्लेख गर्नुभयो । “मैले सरकारको एक पैसा हिनामिना गरेको छैन, अरूभन्दा थोरै टीएडीए लिएको छु । मेरो लक्ष्य बेलडाँडी बनाउने हो, मलाई साथ दिनुहोस्,“ उहाँको आग्रह थियो ।
विद्यालयमा गुणस्तर वृद्धि, स्रोतको उचित व्यवस्थापन र शिक्षामा परिणाममुखी सुधारका लागि गरिएको यो कदम पालिकाले दीर्घकालीन शिक्षा सुधार योजनाको अंशका रूपमा लिएको बताएको छ ।
Discussion about this post