कञ्चनपुर, जेठ १५ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) कञ्चनपुरका अध्यक्ष तथा केन्द्रीय सदस्य नन्दकुमार राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । संघीय बजेट सार्वजनिक भएको दिन बिहीबार उनले पार्टी परित्याग गर्दै माओवादी केन्द्रको सदस्यता लिएका हुन् ।
रानालाई माओवादी केन्द्र कञ्चनपुरका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष टिका लगाएर स्वागत गरेका थिए । प्रवेश कार्यक्रममा बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका पुर्व अध्यक्ष मदनसेन बडायक, बेलौरी–८ का वडाध्यक्ष बिश्राम राना, माओवादी युवा नेता अमरसिंह चौधरी, दीपक तिलिसिना, लालबहादुर चौधरीलगायतको उपस्थिति रहेको थियो।
रानाले सोही दिन नाउपाका पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाएका थिए । राजीनामामा उनले पार्टीप्रति विश्वास गरेर समर्पण गरे पनि नाउपाले उत्पीडित र उपेक्षित समुदायको पक्षमा कार्य गर्न नसकेको आरोप लगाएका छन् ।
“नागरिक उन्मुक्ति पार्टी पद, पैसा, प्रतिष्ठा र व्यक्तिगत लाभमा केन्द्रित हुँदै मूल मर्म र मूल्यबाट विचलित भएको छ,“ रानाले राजीनामा पत्रमा उल्लेख गरेका छन् । पार्टीका पछिल्ला गतिविधि नैतिकता, ईमान्दारिता र राजनीतिक संस्कारविपरीत भएको भन्दै उनले आफू अब साधारण सदस्यको रूपमा समेत त्यहाँ बस्न नसक्ने घोषणा गरेका हुन् ।
राना पूर्वमा नेकपा एमालेका स्थानीय नेता समेत थिए । उनी बेलौरी नगरपालिका–८ का तत्कालीन वडाध्यक्षसमेत भइसकेका छन् । पछिल्लो समय नाउपाले सुदूरपश्चिम प्रदेश र संघीय सरकारमा सत्ता साझेदारी गर्दै आए पनि पार्टीभित्र असन्तुष्टि चुलिँदै आएको देखिन्छ । विशेषतः थारु समुदायको हक–अधिकारका लागि गठन भएको भनिएको पार्टी सत्तामुखी भएको भन्दै कार्यकर्ताहरू क्रमशः पार्टी परित्याग गरिरहेका छन् ।
Discussion about this post