बेलडाँडी, कञ्चनपुर । बेलडाँडी गाउँपालिका वडा नं. २ स्थित पालिकाको मैदानमा आयोजित भेट्रान भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। बेलडाँडी गाउँ खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा पालिका भित्रका चार टिमको सहभागिता रहेको थियो।
भेट्रान खेलाडीहरूलाई सक्रिय राख्ने र खेलकुद गतिविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको फाइनल खेलमा खैरीघाट टिम ‘बी’ ले सामुदायिक शिक्षक टिमलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। खैरीघाटले तीनै सेट (२५–१७, २५–१३, २५–२०) मा प्रभावशाली जित निकाल्दै पहिलो संस्करणको भेट्रान कप आफ्नाे पोल्टामा पारेको हो।
समापन समारोहमा बोल्दै बेलडाँडी गाउँ खेलकुद विकास समितिका अध्यक्ष डम्बर सुनारले खेलकुद क्षेत्रको विकासका लागि आगामी दिनमा अझ स्तरीय तथा व्यापक प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन वैजनाथ माविकी शिक्षिका सरस्वती सुनारले गर्नुभएको थियो।
प्रतियोगितामा विजेता टिमलाई नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टिमले नगद ३० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो।
१५ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार समापन गरिएको हो। निर्णायकको भूमिकामा स्थानीय प्रशिक्षक तथा पूर्वखेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो।
Discussion about this post