अम्बा दत्त तिवारी, धनगढी । कैलारी गाउँपालिका र स्वस्तिक अस्पताल प्रा.लि. धनगढीको संयुक्त आयोजनामा, नवजीवन सेवा संघको साझेदारीमा कैलारी गाउँपालिका–१ हसुलियास्थित दिपेन्द्र माध्यमिक विद्यालयको परिसरमा सम्पन्न बृहत निशुल्क स्वास्थ्य शिविरमा ५ सय ६६ जनाले विशेषज्ञ सेवा लिएका छन्।
शनिवार सम्पन्न उक्त शिविरमा जनरल फिजिसियन डा. सुनील पाण्डे, हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा. उत्सव श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. राजीव चौधरी, र मेडिकल अधिकृत डा. सञ्जय विक्रम ठगुन्ना तथा डा. मधु स्वप्नाले स्वास्थ्य सेवा प्रदान गरेका थिए।
शिविरमा सहभागी ९० वर्षीया जनजिरु चौधरीले गाउँमै डाक्टरको सेवा पाएकोमा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिइन्। “उमेर पनि धेरै भयो, अस्पताल जान सकिन, डाक्टर आफैँ गाउँमा आएर उपचार गरे, औषधी दिए, धेरै खुसी लागेको छ,” उनले भनिन्।
स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रम वडा नं. ३ का अध्यक्ष तथा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक सन्त राम चौधरीको अध्यक्षतामा सम्पन्न भयो। गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरी प्रमुख अतिथि थिइन्। उनले उद्घाटन कार्यक्रममा बोल्दै स्थानीयले आफ्नै गाउँमै विशेषज्ञ सेवा पाउनुले ठूलो राहत मिलेको बताइन्।
कार्यक्रममा स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालका अध्यक्ष दीपेन्द्र प्रसाद तिवारी विशिष्ट अतिथिका रूपमा उपस्थित रहे। उनले सर्वसाधारणको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यसहित स्वस्तिक अस्पतालले आधुनिक प्रविधि र गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नरेश कुमार चौधरीका अनुसार दुई चरणमा शिविर सम्पन्न गरिएको हो। पहिलो चरणमा वडा नं. ६ को जानकी माध्यमिक विद्यालयमा गरिएको थियो भने दोस्रो चरणमा जेठ १७ गते वडा नं. १ मा सम्पन्न गरिएको हो।
स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित गरिएको शिविरले गाउँपालिकावासीलाई राहत मिलेको आयोजकको भनाइ छ।
Discussion about this post