काठमाडौं:राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको पुनःघोषणाको मागसहित दोस्रो चरणको आन्दोलन घोषणा गर्न बोलाइएको संयुक्त जनआन्दोलन समन्वय समितिको बैठक तनावपूर्ण बन्यो। बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित नहुँदा कार्यकर्ताहरूले आक्रोश व्यक्त गरेपछि केहीबेर बैठकस्थलमा अव्यवस्थित स्थिति सिर्जना भएको थियो।
समितिका संयोजक नवराज सुवेदीले पहिलो चरणको आन्दोलनको समीक्षा गर्दै दोस्रो चरणको कार्यक्रम तय गर्न बैठक आयोजना गरेका थिए। तर बैठक सुरु भएलगत्तै अध्यक्ष लिङ्देन संसद्मा व्यस्त रहेको जानकारी गराइएपछि कार्यकर्ताहरू बीच असन्तुष्टि चुलिएको थियो।
“संसद् चाहिएको भए किन आन्दोलन?” भन्दै कार्यकर्ताहरूले होहल्ला गर्न थालेपछि वातावरण तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रण गर्न प्रयास गर्दै राप्रपाका वरिष्ठ नेता कमल थापाले भने, “तपाईंहरू हल्ला गर्ने हो भने म बोल्दिन, जे मन लाग्यो त्यही गर्नुस्। यसरी त बैठक चल्दैन।”
तत्काल संयोजक सुवेदीले बैठकलाई शान्त बनाउन सबै नेताहरू र कार्यकर्तालाई धन्यवाद दिँदै भने, “सभालाई विसर्जन गर्नुअघि तपाईंहरूको उत्साह, जाँगर र विचारप्रतिको विश्वास देखेर म बुढो भए पनि अझ ऊर्जा थपिएको महसुस भएको छ।”
उनले आगामी दिनमा थप प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँदै बैठक सकिएको घोषणा गरेका छन्।
Discussion about this post