महेन्द्रनगर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपीशर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले आफ्नो घर पनि नबनाउने र अर्काको पनि बन्न नदिने व्यक्तिको संज्ञा दिएका छन् ।
शुक्रबार एमाले कञ्चनपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले भने,‘यो गठबन्धनको कुनै गन्तब्य छैन, प्रचण्डले न आफ्नो घर बनाउँछन्, न अर्काको बनाउन दिन्छन् ।’
‘प्रचण्डले दश बर्ष जनयद्धका नाममा देश बरबाद गरे त्यो पनि गन्तब्यहिन थियो, अहिले जनता ठग्न अझै त्यो गठबन्धन हो कि ठगबन्धन जनताले बुझेकै हुनुपर्छ ।’ उनले भने । मंसिर ४ मा जनताले एमालेका उम्मेदवारलाई भोट दिएर जिताउने दावि गदै अध्यक्ष ओलिले भन्नुभयो, ‘निरु पाललाई चिन्नुहुन्छ, नचिने मंसिर ४ पछि झ्याम्म खाएपछि चिन्नुहोला ।’ केही दिन अगाडी चुनावी कार्यक्रममा काँग्रेस नेता लेखकले जनताले पाललाई नचिनेको भनेर टिप्पणी गरेका थिए ।
यस्तै उनले दोधारा चाँदनीमा छिट्टै सिंचाईको व्यवस्था गरिने बताए । आफु सरकारमा रहेको बेला महाकाली सन्धी अनुसार पाउनुपर्ने दश क्युसेक पानी दोधारा चाँदनीलाई दिलाउन पहल शुरु गरी सकेको र अहिलेको सरकारले त्यसलाई अगाडी नबढाएको आरोप लगाउँदै उनले भने, ‘मंसिर ४ गते पछि एमालेको नेतृत्वमा बन्ने सरकारले दोधारा चाँदनीलाई छिट्टै सिंचाईको व्यवस्था उपलब्ध गराउनेछ ।’
उनले देशमा विकासको मुल फुटाउन एमाले बाहेक अरुले नसक्ने जिकिर गर्दै गठबन्धनलाई बाणीचुडी देशको ढुकुटी रित्याउन बनेको समुहको संज्ञा दिए । उनले भने, ‘अहिलेको सरकार कठपुतली सरकार टालाटुली बाटुली बाहेक यसको केही काम छैन, मलाई १० करोड रकम बाडेको आरोप लगाउँछन् त्यो त २४ लाख भ्याक्सिन किन्न २४५ करोड राज्यको ढुकुटी रित्याएर भ्याक्सिन नल्याएका मन्त्रीहरुलाई सोध्नुप¥यो, मसंग १० करोड कहाँबाट आउँछ ।’
देश बचाउनका लागि एमालेले जित्नुपर्ने बताउँदै अध्यक्ष ओलीले भने, ‘गेटा मेडिकल कलेज, लोक पहाडी राजमार्ग, महाकालीको पुल, सुख्खा बन्दरगाह, दैजीछेला औद्योगीक क्षेत्र सबै कामहरु अगाडी बढाउन पुनः एमाले सरकारको आवश्यकता छ ।’
यस्तै सुदूरपश्चिम विश्व विद्यालयको विकास, डडेल्धुरामा प्राविधिक शिक्षा, राम्रा विद्यालय, सुविधा सम्पन्न अस्पताल तथा सुकुम्बासी समस्या समाधान गर्न एमाले नै चाहिने उनले दाबी गरे । उनले भने, ‘यो सरकारले १६ महिनामा सिन्को भाँचेको उदाहरण छ, पञ्चेश्वर परियोजना, पश्चिम सेतिआयोजना लगायत विकासका हजारौं कामहरु अगाडि बढाउन र देश जोगाउन हाम्रो सरकारको आवश्यकता छ ।’ उनले थपे, ‘आफ्नो कम्मरमा उभिन नसक्नेहरु, च्याखुरेहरुले बाजी मार्ने र सरकार बनाएर देश लुट्ने खेल बन्द हुनुपर्छ, जनताले मंसिर ४ मा यसको जवाफ दिनेछन् ।
‘शहिदहरुका सपना पुरा गर्न, देशमा रोजगारी सिर्जना गर्न, युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न, देशलाई उचित गति दिन, बलियो सरकारको आवश्यकता रहेकोले एमालेलाई बलियो बनाउन जनता माझ आग्रह गर्दछु ।’ उनले भने ।
Discussion about this post