बेलडाँडी । मानवीय सेवा र सहानुभूतिको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बेलडाँडी गाउँपालिकाबाट मानसिक सन्तुलन गुमाएका तीनजना व्यक्तिको सफल उद्धार गरिएको छ । लामो समयदेखि चवन्नी बजार आसपासको सडक किनारामा दिनरात भोकैप्यासै बिताइरहेका ती व्यक्तिहरूलाई पालिकाको पहलमा उद्धार गरी बुधबार मानव सेवा आश्रम, धनगढीमा सुरक्षितरूपमा पठाइएको हो ।
नाम, थर र ठेगाना नखुलेका ती तीन जना सहयोगापेक्षी व्यक्तिहरूको उद्धारमा गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको विशेष चासो र सक्रियतासँगै मानव सेवा आश्रमको सहकार्य रह्यो । पालिकाले उनीहरूको संरक्षण, उपचार र पुनःस्थापनाका लागि आश्रममा जिम्मा लगाएको हो ।
सडकको छेउमा कष्टकर जीवन बाँचिरहेका ती व्यक्तिहरू वर्षौंदेखि समाजको नजरमा ओझेलमा परेका थिए । भोक, रोग र उपेक्षाको त्रासमा दिन बिताउँदै आएका उनीहरूलाई अब मानव सेवा आश्रममा मानवोचित जीवनका आधारहरू प्राप्त हुनेछन् ।
मानव सेवा आश्रमले २०८२ सालभित्र देशभरका सडकपेटी, चोक र सार्वजनिक स्थलहरूमा सहयोगको पर्खाइमा रहेका घरपरिवारविहीन मानसिक अशक्त तथा असहाय व्यक्तिहरूको उद्धार गरी “सडक मानवमुक्त राष्ट्र“ बनाउने महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ । सोही अभियानअन्तर्गत धनगढी शाखामा अहिले सयौंको संख्यामा आश्रितहरू जीवन पुनःनिर्माण गर्दै छन् ।
“हामीले मानवताको नाताले उनीहरूलाई सहारा दिएका छौं,” गाउँपालिका अध्यक्ष रानाले भने, “समाजमा सबैले मानव भएर बाँच्ने अधिकार पाउनुपर्छ भन्ने मान्यताले हामी अघि बढिरहेका छौं ।”
यस उद्धार कार्यले बेलडाँडीमा मात्र होइन, सिंगो सुदूरपश्चिम क्षेत्रमा मानवता जागृत गराउने प्रेरणादायी सन्देश दिएको छ ।
Discussion about this post