बाजुरा — बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भयावह आगलागी भएको छ। साँफे–मार्तडी सडकखण्डमा पर्ने व्यस्त बजार क्षेत्रमा अचानक भएको आगलागीले ४० भन्दा बढी पसलहरू पूर्ण रूपमा नष्ट भएका छन्।
बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँका अनुसार नवदुर्गा होटलबाट ग्यास सिलिन्डर पड्किएपछि आगलागी सुरु भएको हो। बजारको घनत्व र नजिक–नजिकै रहेका काठका संरचनाहरूले आगो फैलन सहज बनाएको थियो।
स्थानीयवासीका अनुसार बजार क्षेत्रमा दमकलको अभावका कारण आगो समयमै नियन्त्रणमा लिन सकिएको थिएन। आगो निभाउन स्थानीयवासी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूले बाल्टिन, पानीको ट्यांकी र रैथाने उपायहरू प्रयोग गरेका थिए।
आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यद्यपि मानवीय क्षतिको खबर अहिलेसम्म प्राप्त नभएको नगर प्रमुख बानियाँले जानकारी दिए।
स्थानीय प्रशासन र प्रहरी टोलीले आगलागीको विस्तृत विवरण संकलन तथा क्षतिको मूल्यांकन कार्य अघि बढाएको छ। पीडित व्यापारीहरूलाई तत्काल राहतको व्यवस्था गर्न नगरपालिकाले गृह मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ
Discussion about this post