काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन्। संसद् बैठक नियमित सञ्चालनमा आउन नसकेको अवस्थामा उनले यो बैठक बोलाएका हुन्।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठक आज मध्याह्न १२ बजे संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा पछिल्लो समय संसद् अवरुद्ध हुनुका कारण, भिजिट भिसा प्रकरण र छानबिन समिति गठनको मागबारे छलफल हुने बताइएको छ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरू प्रतिनिधि सभा अवरुद्ध गरिरहेका छन्। जेठ १३ गतेदेखि प्रभावित संसद् बैठक जेठ १५ मा बजेट प्रस्तुतिका क्रममा मात्र अवरुद्ध गरिएको थिएन। त्यसयता संसद्मा बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन।
यसअघि संसद् अवरोध हटाउने विषयमा माओवादी अध्यक्ष प्रचण्ड र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। आजको बैठकमा सो भेटवार्तामा भएका कुराकानीबारे पनि विपक्षी दलहरूलाई प्रचण्डले जानकारी गराउने छन्।
Discussion about this post