नरेश राना/ कञ्चनपुर कञ्चनपुरको लालझाडी गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ।
गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष निर्मल रानाको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकमा विपद् व्यवस्थापन, सामाजिक विकास, पूर्वाधार निर्माण, वित्तीय अनुशासन, सुशासनलगायतका विविध विषयमा छलफल गरिएको थियो।
गाउँपालिकाले विपद् व्यवस्थापन अन्तर्गत स्थानीय विपद् कोषलाई निरन्तरता दिने, जंगली जनावर र छाडा पशुबाट हुने बाली क्षति न्यूनीकरणका लागि मेसवायर जडान गर्ने, जोखिम क्षेत्र पहिचान गरी सुरक्षित स्थल तोक्ने तथा दमकल सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ। विपद् स्वयमसेवकहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम पनि सञ्चालन गरिनेछ।
नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्न हेल्प डेस्क, गुनासो पेटिका र सार्वजनिक सुनुवाइ जस्ता विधि प्रभावकारी ढंगले लागू गरिनेछ। रोजगार सेवा केन्द्रमार्फत श्रमिक परिचालन गरिने र बेरोजगार युवालाई जीवनोपयोगी सीपमूलक तालिम प्रदान गरिने योजना छ। साथै, वैदेशिक रोजगारी सुरक्षित बनाउन ‘सुरक्षित आप्रवासन कार्यक्रम’ सञ्चालन र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइनेछ।
पूर्वाधार विकास अन्तर्गत सडक विस्तार, चक्रपथ निर्माण, पुल तथा भवन निर्माण र स्तरोन्नति, विद्युतीय र सौर्य उर्जामा आधारित सिँचाइ प्रविधिको विस्तार गरिने भएको छ। तटबन्ध निर्माण, मर्मत सम्भार र वृक्षारोपणमा विशेष जोड दिइनेछ।
स्वास्थ्य सेवामा सबै नागरिकका लागि निःशुल्क गुणस्तरीय आधारभूत सेवा सुनिश्चित गरिनेछ। स्वास्थ्य पूर्वाधार, आवश्यक औषधि, सुत्केरी सेवा, खोप तथा जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था नीति कार्यक्रममा समेटिएको छ।
वित्तीय व्यवस्थापन र सुशासनतर्फ आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै सार्वजनिक खर्च पारदर्शी र मितव्ययी बनाइनेछ। कर प्रणालीलाई चुस्त दुरुस्त बनाई करदाता मैत्री नीति लागू गरिनेछ। साथै, सार्वजनिक सुनुवाई, गुनासो व्यवस्थापन र नागरिक सन्तुष्टि सर्वेक्षणसमेत गरिनेछ।
‘स्मार्ट गाउँपालिका’ र ‘स्मार्ट जनप्रतिनिधि तथा कर्मचारी’ कार्यक्रम अगाडि बढाइने जनाइएको छ। सूचना तथा सञ्चार प्रविधिमा डिजिटल ई-गभर्नेन्सलाई प्राथमिकता दिँदै सरकारी वेबसाइट, सामाजिक सञ्जालमार्फत सूचना प्रवाह र सार्वजनिक स्थानमा सिसिटिभी जडान तथा ई-हाजिरी प्रणाली लागू गरिनेछ।
सुरक्षा व्यवस्थापनमा आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्ष निकायसँग सहकार्य गरिनेछ। वडा नं. ६ को चान्देव बजार क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिने योजना पनि पारित भएको छ।
बैठकमा सभाध्यक्ष रानाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। गाउँसभा यही असार ९ गते बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।
सभाको सञ्चालन ‘गाउँसभा सञ्चालन ऐन’ बमोजिम नयाँ अभ्याससहित गरिएको गाउँसभा सचिव एवं प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिनुभयो।
Discussion about this post