नवलपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड रातिको समयमा पूर्ण रुपमा बन्द हुने भएको छ । दुम्कीबास खण्डको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै आज (सनिवार) साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हो ।
सडक विभाग अन्तर्गतको आयोजनाहरूका निर्देशक इञ्जिनियर चुडाराज ढकालका अनुसार दुम्कीबासस्थित विनयी खोला पुल नजिकैको डाइभर्सन सडक वर्षाले बारम्बार बगाउँदा ठूलो दुर्घटनाको सम्भावना रहेकाले अस्थायी रुपमा रातिको आवागमन रोक्ने निर्णय गरिएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले यो निर्णय गरेको हो ।
“डाइभर्सन बारम्बार बग्ने र वैकल्पिक पुल अझै सञ्चालनमा नआएकाले रातिको सवारीसाधन पूर्णरुपमा बन्द गरिएको हो,” ढकालले भने, “त्यस्तै, दाउन्ने खण्डमा मर्मतका क्रममा हिलो र अवरोधका कारण यातायात सहज छैन, त्यसैले अवस्था सुधार नभएसम्म रातिको आवागमन रोकिनेछ।”
ठूला र मालवाहक सवारीसाधनलाई २४ सै घण्टा पूर्णरुपमा प्रतिबन्ध गरिएको छ। यस्ता सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ भने साना सवारीसाधनका यात्रुहरूलाई दिउँसो मात्र यात्रा गर्न निर्देशन दिइएको छ।
चार लेनमा विस्तार भइरहेको यस सडक खण्डमा केही समययता सामान्य वर्षाले पनि सवारी चलाउन कठिन भएको छ। खासगरी दाउन्ने क्षेत्रमा ग्राभेल मार्ग हिलोमय हुने र विनयी खोलाको बाढीले डाइभर्सन बगाउने समस्या दोहोरिरहेकाले यातायात नियमित सञ्चालनमा बाधा आइरहेको हो।
Discussion about this post