बेलडाँडी । दैजी–बेलडाँडी सडक खण्डअन्तर्गत बेलडाँडीतर्फ जाने नहरको छेउमै रहेको महाकाली सिँचाइ प्रणाली जल उपभोक्ता संघ ग्रुप ’ई’ दैजीको पुरानो भवन आजसम्म पनि हटाइएको छैन । करिब १० वर्षभन्दा बढी समयदेखि प्रयोगविहीन रहेको यो भवन अहिले सवारी दुर्घटनाको संभावित कारक बन्दै गएको छ ।
पुरानो भवन प्रयोगविहीन भएपछि सिँचाइ कार्यालयले सेवा प्रदान गर्नका लागि नयाँ भवन निर्माण गरिसकेको छ । प्रशासकीय कार्य अहिले सो नयाँ भवनबाटै सञ्चालन हुँदै आएको छ । तर, सडकको छेउ चौराहामै रहेको यो पुरानो भवनका कारण यातायातका साधनहरूलाई एक–अर्कालाई देख्न कठिन भएको स्थानीयको गुनासो छ ।
सवारी नदेखिने स्थिति सिर्जना भएकाले त्यहाँ दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दो छ । यद्यपि यो विषयमा सम्बन्धित कार्यालयलाई पटक–पटक जानकारी दिइए पनि कुनै प्रतिक्रिया नआएको स्थानीयवासी बताउँछन् ।
बेलडाँडीका एक स्थानीय युवा रमेश धामी भन्छन्, “सडक छेउको त्यो भवनले मोडमा अड्को दिएको छ, गाडी–मोटरसाइकल क्रस हुँदा सिधै ठोक्किने खतरा छ । जब सेवा नै अर्को भवनबाट दिइँदैछ भने त्यो पुरानो भवन किन सडक छेउमा अलपत्र राखिएको ?”
विशेषत : स्कुले बालबालिका, साइकल चालक र मोटरसाइकल प्रयोगकर्ताको सुरक्षाका लागि उक्त भवन तत्काल हटाइनु पर्ने माग स्थानीय समुदायको साझा आवाज बनेको छ । “सेवा त नयाँ भवनबाट दिन सकिन्छ भने दुर्घटना न्यूनिकरणको लागि पुरानो भवन हटाउनु अहिलेको आवश्यकता हो ।”
समस्या देखिए पनि जल उपभोक्ता संघको कार्यालयले यस विषयमा चासो नदिएको स्थानीयको आरोप छ । दुर्घटना नहोस् भनेर आवाज उठाउँदा समेत सम्बद्ध निकायले बेवास्ता गर्नु जनताको जीवनको सुरक्षाप्रति उदासीनता दर्शाउने गम्भीर विषय बनेको छ ।
सेवा नयाँ भवनबाट दिइरहेको अवस्थामा प्रयोगविहीन पुरानो भवनलाई त्यहीं राख्ने कुनै तर्क रहँदैन । सडक सुरक्षाको दृष्टिकोणले हेर्दा अब विलम्ब नगरी उक्त भवन हटाउनु नै सबैभन्दा सान्दर्भिक र जनउत्तरदायी निर्णय हुनेछ ।
Discussion about this post