डडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णबहादुर बिष्टले सोमबार साँझ आफ्नी जीवनसंगिनी गुमाएका छन् । परशुराम नगरपालिका–५, परिगाउँस्थित आफ्नै घर नजिकै घाँस काट्ने क्रममा रुखबाट लडेकी करिब ४३ वर्षीया पत्नी धना देवी बिष्टको ज्यान गएको हो ।
रुखबाट खसेपछि उनको टाउको सिचाइ नहरको डिलमा ठोक्किँदा गम्भीर चोट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि आफन्तले तुरुन्तै जोगबुडा अस्पताल पुर्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
धना देवीको शव अहिले पोस्टमार्टमका लागि जोगबुडा अस्पतालको शवगृहमा राखिएको छ।
नेता बिष्टले आफ्ना लागि “९ गते कालो दिन बन्यो” भनेर सामाजिक सञ्जालमार्फत गहभरि मनका वेदना पोखेका छन् ।
“जीवनको प्रत्येक सुख–दुःखमा साथ दिइरहेकी मेरी जीवनसाथीको यसरी एक्कासि वियोग हुनेछ भन्ने कल्पना पनि गरेको थिइनँ,” नेता बिष्टले जनाए ।
उनको यो वियोगपूर्ण क्षणले बिष्ट परिवार मात्र होइन, पुरै गाउँलाई स्तब्ध बनाएको छ । राजनीतिक व्यस्तता बीच पनि परिवारप्रतिको दायित्व सदैव निभाउँदै आएका बिष्ट अहिले गहिरो शोकमा छन् । स्थानीयहरूले पनि धना देवीलाई सहृदयी, मृदुभाषी र सबैसँग घुलमिल हुने व्यक्तित्वका रूपमा सम्झिरहेका छन् ।
शोकाकुल परिवारलाई यस अपूरणीय क्षतिमा धैर्य र सम्बल मिलोस् भन्ने कामना गर्दै स्थानीय समुदायले श्रद्धासुमन अर्पण गरेका छन् ।
Discussion about this post