बेलडाँडी, असार १६ । “पैसा भए मात्र शिक्षा पाइन्छ” भन्ने आम भनाइलाई झुटा सावित गर्दै बेलडाँडीका शिक्षकहरूले निःशुल्क ग्रेड सुधार तयारी कक्षा सञ्चालन गर्ने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको २०८१ सालको एसईई नतिजा सार्वजनिक भएसँगै, ग्रेड सुधार परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई लक्षित गरी बेलडाँडीका विभिन्न विद्यालयका शिक्षकहरूले यस्तो सकारात्मक पहल थालेका हुन्।
रौलेश्वर माध्यमिक विद्यालयका शिक्षक कृष्ण धामीका अनुसार, विद्यार्थीहरूलाई प्रोत्साहन दिन र उनीहरूको मनोबल उच्च बनाइदिनका लागि स्थानीय शिक्षकहरू स्वस्फूर्त रूपमा यस अभियानमा जुटेका हुन्।
शिक्षक धामीका अनुसार कक्षामा विभिन्न विद्यालयका अनुभवी शिक्षकहरूले विषयगत अध्ययन गराउने छन्।
नेपाली: सिंहपाल आवि.का मदन साउद, सामाजिक: गणेश माविका जनक थापा, गणित: रौलेश्वर माविका कृष्ण धामी, अंग्रेजी: सिद्धनाथ माविका दीपक नेपाली, विज्ञान/गणित: सिद्धनाथ माविका वीरबहादुर बिष्ट र सरस्वती माविका सन्तोष बिष्ट, नेपाली: सिद्धनाथ माविकी देवकी जोशी, अर्थशास्त्र: सिद्धनाथ माविका प्रेमबहादुर कुँवर पढाउने तयारी भएको जनाइएको छ ।
तयारी कक्षा रौलेश्वर माविमा असार १७ गते (भोलि) देखि सञ्चालन हुने जनाइएको छ।
शिक्षकहरूको यो निःस्वार्थ प्रयासप्रति समुदाय स्तरमा व्यापक प्रशंसा सुरु भएको छ। शिक्षा व्यवसायिक बनेको भन्ने चिन्ताबीच बेलडाँडीका शिक्षकहरूले देखाएको यो समाजसेवी भावना साँचिकै प्रेरणादायी छ। यस कार्यले शिक्षा भनेको व्यापार होइन, सेवाको माध्यम पनि हुन सक्ने उदाहरण प्रस्तुत गरेको छ।
Discussion about this post