शुक्लाफाँटामा संकटापन्न सुनौलो तोप चराको गणना सुरु

दक्षिण एसियामै दुर्लभ र संकटापन्न अवस्थामा रहेको सुनौलो तोप चराको गणना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि सुरु भएको छ। नेपाल पन्छी संरक्षण संघ बीसीएन को आयोजनामा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिने चरागणना कार्यक्रम सुरु गरिएको हो।

निकुञ्ज र बीसीएनका आठजना प्राविधिक टोलीले बाइनाकुलर, दुरबिन, क्यामेरा र जीपीएसको प्रयोग गरी चराको संख्या, लिङ्ग, गुँडको स्थिति, आहाराको अवस्था तथा जोखिम र सुरक्षासम्बन्धी विषयमा गहिरो अध्ययन गर्नेछन्।

बीसीएनका चराविज्ञ हिरुलाल डगौराका अनुसार, गणना स्थलमा स्थलगत अनुगमन गरिनेछ। हिँडेर पुगिने स्थानमा पैदल र दुर्गम ठाउँमा हात्ती प्रयोग गरेर गणना हुनेछ। निकुञ्जसँगै दुई दिनसम्म बाह्य क्षेत्रहरूमा पनि गणना गरिनेछ।

गणना सिकारी ताल, शुक्लाफाँट, वीरसिंह टापु, सिंहपुरफाँटा, अण्डैयापटैया लगायत क्षेत्रमा केन्द्रित रहनेछ। यस क्रममा गुँड बनाइने रूखको उचाइ, घाँसको प्रकार र सिकारी चराबाट हुने जोखिमबारे पनि विस्तृत अध्ययन गरिने जनाइएको छ।

निकुञ्जका रेञ्जर प्रयास केसीका अनुसार, सुनौलो तोप चरा नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा निकुञ्जमै मात्र पाइन्छ। भँगेराजस्तो देखिने र पहेँलो रंगका कारण यसलाई ुसुनौलो तोपु भनिन्छ।

केसीले बताएअनुसार यो चरा रूखका हाँगामा पात सिएर सामूहिक गुँड बनाउने र समूहमै आहाराको खोजीमा निस्कने भएकाले सामाजिक चराको रूपमा चिनिन्छ।

निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्लेले यसले कीरा तथा फट्याङ्ग्रा खाने भएकाले किसानको साथी रहेको बताए। मनसुनमा बढी प्रजनन गर्ने यो चराले काँडेदार रूखमा गुँड बनाउने विशेषता रहेको बाग्लेले जानकारी दिए।

करिब ३०५ वर्गकिलोमिटरमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४०० भन्दा बढी प्रजातिका चराहरू पाइन्छन्। सन् १९९६ मा पहिलोपटक देखिएको सुनौलो तोप चराको संख्या हाल करिब १०० को हाराहारीमा रहेको अनुमान गरिएको छ।

संरक्षणकर्ताहरूका अनुसार नियमित अनुगमन र अध्ययनमार्फत यो संकटापन्न चराको दीर्घकालीन संरक्षणलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित