कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा डेङ्गु रोगको जोखिम न्यूनीकरण गर्न लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने विषयमा स्थानीय तहसँगको समन्वयमा पैरवी कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार पिपलाडी स्वास्थ्य चौकीमा जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना र शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले सञ्चालन गर्दै आएको नियमित कार्यक्रमअन्तर्गत सरोकारवाला निकायहरूसँग समन्वयात्मक छलफल गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी नगरप्रमुख रणबहादुर महराले सरोकारवालासँग समन्वय गरेर अगाडि बढाइएको यस्तो कार्यक्रमले डेङ्गु नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। “डेङ्गु रोगबाट बच्न चेतनामूलक अभियान आवश्यक छ,” महराले भने, “स्वास्थ्य शाखाले यसअघि पनि सरुवा रोग नियन्त्रणका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ।”
उनले पिपलाडी अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै आगामी तीन महिनाभित्र सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याइने जानकारी दिए। साथै रोग नियन्त्रणका अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मी, स्वयंसेविका र अन्य सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका मलेरिया निरीक्षक सिद्धराज भट्टले सहजीकरण गरेका थिए। नगर स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्ट, पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गा भट्ट, विद्यालयका प्रधानाध्यापक, वडा समितिका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा डेङ्गु रोगबाट बच्न आवश्यक सावधानी, लार्भा नष्ट गर्ने तरिका, लामखुट्टेको बासस्थान पहिचान र जनचेतना अभिवृद्धिका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले रोगको उपचार मात्र होइन, रोकथाम नै प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए।






















Discussion about this post