गाली बेइज्जती मुद्दामा दोषी ठहरिएका खेम भण्डारी कारागार चलान

कञ्चनपुर । गाली बेइज्जती मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएका पत्रकार खेम भण्डारीलाई कारागार चलान गरिएको छ। फैसला कार्यान्वयनका लागि पक्राउ परेका भण्डारीलाई बिहीबार कञ्चनपुर कारागार पठाइएको हो।

भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिम रकम बुझाएर कैद सजाय मिलान गरिपाऊँ भनी कानुन व्यवसायीमार्फत जिल्ला अदालत कञ्चनपुरमा निवेदन दिएका थिए। तर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त निवेदन अस्वीकार गरेपछि उनलाई कारागार पठाइएको तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए।

अदालतका अनुसार रकम तिरेर कैद सजाय मिलान गर्ने सुविधा पहिलो पटक कैद सजाय पाएका व्यक्तिका हकमा मात्र लागू हुने व्यवस्था छ। भण्डारी यसअघि नै अर्को मुद्दामा कैद सजाय पाइसकेकाले उक्त सुविधा प्राप्त गर्न नसकेको अदालतको निष्कर्ष रहेको छ।

यसअघि निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित अर्को मुद्दामा भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो।

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित विषयमा प्रकाशित सामग्रीलाई लिएर दायर भएको गाली बेइज्जती मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गर्दै एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने फैसला गरेको थियो।

उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले थप सात दिन कैद र दुई हजार १ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो। सोही फैसला कार्यान्वयनका क्रममा भण्डारी पक्राउ परेका थिए।

निर्मला पन्त हत्या प्रकरणमा तथ्यहीन रूपमा आफ्नो नाम जोडेर समाचार प्रकाशन गरेको आरोप लगाउँदै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए। किरण बिष्ट हाल राष्ट्रिय समाचार समिति मा पत्रकारका रूपमा कार्यरत छन्।

स्मरणीय छ, २०७५ साउन १० गते साथीको घरमा पढ्न गएको भन्दै घरबाट निस्किएकी कञ्चनपुरकी किशोरी निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिका स्थित निम्बुखेडा खोला किनारको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। बहुचर्चित उक्त घटनाका वास्तविक दोषी हालसम्म पहिचान हुन सकेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित